
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ ।
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि क्षेत्रीय समितिमा आकांक्षीहरुको नाम सिफारिस गरिएको हो । नगर समिति सभापति कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिसमा परेको छ ।
पहिलो नम्बरमा नाम सिफारिस भएका कृष्णमान तीन पटकसम्म पार्टीको कीर्तिपुर नगर सभापति बनिसकेका छन् । उनी ललितकला क्याम्पसका पूर्वस्ववियू सभापति हुन् ।
चौथो नम्बरमा सिफारिसमा परेकी जमुना नकर्मी निधन भएका नगरका पूर्वप्रमुख राजकुमार नकर्मीकी पत्नी हुन् । पेशाले उनी कानुन व्यवसायी हुन् । नेपाली कांग्रेसको विधान अनुसार प्रत्येक तहले एक जना महिलाको नाम अनिवार्य राखेर बढीमा तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ ।
पार्टीबाट ११ जनाको नाम सिफारिसमा परे पनि टिकट पाउनेलाई सबै मिलेर सहयोग गर्ने सहमति बनेको नगर समितिका सभापति कृष्णमान बताउँछन् । कांग्रेसको विधान अनुसार नगर प्रमुखको उम्मेदवार छनोट गर्ने अधिकार प्रदेश समितिलाई छ ।
कीर्तिपुरको मेयरमा नेकपा (एमाले)बाट डा. सुरेन्द्र मानन्धर र नेकपा (माओवादी केन्द्र)बाट प्रा.डा. शिवशरण महर्जनको नाम सिफारिस भइसकेको छ ।

























