
काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मंसिर २ गतेलाई मनोनयन दर्ताको समय तोकेको छ ।
मुलुकभर विभिन्न स्थानीय तहको ४४ पदका लागि मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदै छ । मंसिर २ गते बिहान १० देखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको समय छुट्याइएको छ ।
सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने छ । निर्वाचन आयोगले २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भइ कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।
मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन दिनको ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।























