नेपालमा दर्ता भयो टिकटक

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २१, बुधबार १४:३८

काठमाडौं । सामाजिक सञ्जाल टिकटक आधिकारिक हिसाबले नेपालमा पहिलोपटक दर्ता भएको छ ।

टिकटकका प्रतिनिधिले मंगलबार दर्ताको प्रमाणपत्र लिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार टिकटकको दर्ता प्रक्रिया भने तिहारअघि नै सकिएको थियो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्र ठाकुरले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार टिकटक दर्ता भएको जानकारी दिए ।

यसअघि नेपालमा टिकटक आधिकारिक थिएन । सामाजिक सद्भाव खलबल्याएको भन्दै २०८० कात्तिक २७ गतेदेखि नेपाल सरकारले प्रतिबन्धसमेत लगाएको थियो ।

सरकारले राखेका सबै सर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि टिकटकसँग वार्ता गरेर गत भदौ १९ गते सरकारले टिकटकमाथिको प्रतिबन्ध हटायो । त्यसअघि गत भदौ ६ गतेको मन्त्रिपरिषद बैठकले सर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो ।

अब भने आधिकारिक रूपमा नेपालको ऐन कानुनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ । यसअघि भाइबर र विटक मात्रै नेपालमा दर्ता भएका थिए । टिकटक नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो ।

यसअघि टिकटकमार्फत भइरहेका साइबर अपराधमा उक्त कम्पनीले कुनै पनि सूचना दिँदैन थियो । अब दर्ता भएसँगै साइबर अपराधको अनुसन्धानमा उक्त कम्पनीले सघाउने प्रतिबद्धता जनाएको छ ।

टिकटकले नेपालको कानुन तथा सर्त मान्दै पर्यटन प्रवर्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ । निर्देशिकाको दफा ३ को उपदफा ८ मा दर्ता भएको सामाजिक सञ्जाल प्लेटमर्फ सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले प्रत्येक ३ वर्षमा विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ ।

सूचीकरणका लागि मन्त्रालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था छ । मन्त्रालयले निवेदन जाँचबुझ गर्दा विवरण उपयुक्त देखिएमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई तोकिएको ढाँचामा सूचीकरण गरेको दर्ता प्रमाणपत्र दिने छ ।

सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स लगायतका सामाजिक सञ्जालको माउ कम्पनी मेटालाई पनि नेपालमा दर्ता हुन आह्वान गर्दै पत्राचार गरेको छ । सामाजिक सञ्जाल एक्स (ट्विटर_लाई पनि यस्तो पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.