
विराटनगर। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको विवादित जापान भ्रमणमा सहभागी भएको भनिएका भ्रमण दलका ‘नक्कली सदस्य’सहित ६ जना पक्राउ परेका छन् ।
मन्त्री अधिकारीकै समन्वयमा तीन जना त्रिभुवन अन्तर्राष्टि विमानस्थलबाट पक्राउ परेका हुन् । पक्राउ परेका तीन जनाको बयानका आधारमा थप तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
प्रहरीका अनुसार खोटाङको ऐँसेलुखर्क गाउँपालिका– २ का ३६ वर्षीय दावा शेर्पा, खोटाङकै कोपिलासगढी गाउँपालिका– ४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटा मन्त्री अधिकारीको भ्रमण दलको सदस्य बनेर जापान पुगेका थिए । शेर्पा १५ दिनको भिजिट भिसामा जापान गएको पाइएको छ ।
एक्लै जापान जाने भनेर नेपालबाट कात्तिक ११ गते हिँडेका अधिकारीसँग हङकङको ट्रन्जिटमा आफू पनि भ्रमण दलको सदस्य भन्दै परिचय गर्न तीन जना पुगेका थिए । मन्त्री अधिकारीले बुधबार मन्त्रालयमै पत्रकार सम्मेलन गरेर यो जानकारी दिएका हुन् ।
सोधीखोजी गर्दा शेर्पासँग ऐँसेलुखर्क गाउँपालिका सदस्यको परिचय भेटिएको थियो । जनक र कञ्चनसँग भने कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहायक पदको परिचयपत्र थियो । प्रहरीका अनुसार तीन जनासँग भेटिएको परिचय पत्र नक्कली हो ।
अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो । निम्तोको चाँजोपाँजो मोरङ घर भइ काठमाडौं बस्ने एमाले कार्यकर्ताले मिलाएको स्रोतको भनाइ छ । अधिकारीका अनुसार २५ अक्टोबरमा भिसा लाग्यो । उनी २७ अक्टोबरमा जापानका लागि उडे ।
टोकियोको कार्यक्रममा मन्त्रीको हैसियतमा एक्लै जाने र सम्पूर्ण खर्च आयोजकले बेहोर्ने जानकारी व्यवस्थापकले गराएका थिए । तर, हङकङमा अवैध रुपमा मानिस ओसार पसार गर्ने समूहले आफूसँगै तीन जनालाई जापान पुर्याउन लागेको थाहा पाएपछि अधिकारी झस्किए ।
टोकियो पुगेपछि मन्त्री अधिकारी पूर्वनिर्धारित कार्यक्रममा गएनन् । आफूसँग गएका तीनै जनालाई लिएर नेपाल फर्किए । ‘कार्यक्रममा गएको भए उनीहरु लुक्ने थिए, त्यसैले गइनँ,’ उनले भने, ‘सँगै नेपाल फर्किएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएँ ।’ प्रहरी स्रोतले भने मन्त्री अधिकारीले जिम्मा लगाएको दाबी गरेका तीन जनालाई जापानले ‘डिपोट’ गरेको जनाएको छ ।
मन्त्रीको जापान भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको थिएन । भ्रमण स्वीकृत नगरी जापान जाँदा मानिस ओसारपसार गर्ने गिरोहले फसाउन खोजेपछि पदबाट राजीनामा दिएको मन्त्री अधिकारीले बताएका छन् । पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको बताए ।
विमास्थलबाट पक्राउ परेका तीन जनाको बयानका आधारमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार दोलखाको जिरी नगरपालिका–९ घर भएका वीरबहादुर सुनुवार, नुवाकोट बिदुर नगरपालिका– ७ का २२ वर्षीय जुगल रिजाल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ का ३४ वर्षीय महेशविक्रम पाण्डे छन् ।
पक्राउ परेका सबैमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका तीन जनाले नक्कली परिचय पत्र बनाएका थिए ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जाने कार्यक्रमको भ्रमण दलको सदस्य बनाउने गिरोह भने फरार छ । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।

























