
झापा । नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ आजबाट झापाको काँकडभिट्टादेखि सुरु हुँदैछ ।
संयोजक भूपेन्द्रजंग शाहीका अनुसार यात्रा मंसिर ४ गतेसम्म जारी रहने छ । इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै महाकाली पुगेर समापन हुने उनले बताए ।
यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित गर्ने नेपाली कांग्रेसको अपेक्षा छ। यस अभियानमार्फत रोजगारी सुनिश्चितताका लागि दबाव सिर्जना गर्ने, सुशासनका लागि खबरदारी गर्ने तथा मूल्यवृद्धि नियन्त्रणको विषय उठाउने कांग्रेसको तयारी छ ।
यो अभियानले सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाव सिर्जना गर्ने शाहीले बताए । देश बनाउन र नागरिकलाई सबल तुल्याउन सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यात्रा प्रारम्भ गर्न लागिएको जानकारी कांग्रेसले दिएको छ ।

























