
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा स्थानीय तहको आगामी उपनिर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको छ ।
सम्बन्धित प्रदेश कमिटीले उम्मेदवार छनोट गर्नुपर्ने भएको हो । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदै छ । उम्मेदवारको नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिइएको पार्टीका सचिव सचिव सोमप्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, सांठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास–निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कात्तिक मसान्तभित्र सिफारिस गर्न सम्बन्धित प्रदेशलाई निर्देशन भइसकेको छ । उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता हुँदै छ ।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचान हुन लागेको हो । समान विचारधारा भएका पार्टीसँग सहकार्य गर्ने योजनामा एकीकृत समाजवादी छ । तर, सत्तारुढ दलहरूसँग चुनावी गठबन्धन नगर्ने पार्टीले जनाएको छ ।

























