
झापा । झापाको कमल गाउँपालिका–२ का चन्द्र श्रेष्ठको घरमा आइतबार बिहानका राति आगलागी भएको छ ।
बाँसको भाटाको टाटीबेला र टिनको छानो लगाएर बनाइएको १ तले घरमा बिहानका राति ३ बजेतिर आगलागी सुरु भएको हो । स्थानीय र दमकलको सहयोगमा प्रहरीले करिब २ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।
आगोलो घरसहित घरभित्र रहेका भाँडावर्तन, अन्नपात, लत्ताकपडा सबै जलेर ध्वस्त भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार आगलागीमा करिब ३ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीको कारण खुल्न नसकेको चन्दले बताए । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।























