कोशीका निवर्तमान मन्त्री अधिकारीको घरमा प्रहरीको घेरा

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २५, आइतबार १३:१९

विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको विराटनगर महानगरपालिका–२ स्थित घरमा सादा पोसाकका प्रहरीले आइतबार (आज) बिहानैदेखि घेरा हालिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएका सादा पोसाकका प्रहरीले बिहानैदेखि घर घेरा हालेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया पनि केही बेरअघि त्यहाँ पुगेका छन् । स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिन प्रहरी खटिएको हो ।

मन्त्री अधिकारीले आफूविरुद्ध लागेको आरोपको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने बताउँदै आएका छन् । उनी आजै दिउँसो १ः५० बजेको यति एयरलाइन्सको जहाजमार्फत काठमाडौं जाने तयारीमा थिए । ‘आफू अनुसन्धानमा सहयोग गर्न आएको र अनुसन्धानको दायरामा ल्याइयोस् भन्ने बेहोरको निवेदनसहित अधिकारी काठमाडौंस्थित प्रहरीको सम्पर्कमा जान लागेका थिए । तर, प्रहरीले बिहानैदेखि घरमा घेरा हालिरहेको छ,’ अधिकारीनिकट स्रोतले भन्यो ।

जापान भ्रमणमा जाने नाममा मानव तस्करी गरेको आरोप अधिकारीमाथि लागेको छ । तर, अहिलेसम्म विकसित घटनाक्रमले भने मानव तस्करीको जालोमा अधिकारी अन्जानमा परेको देखिन्छ । उनले जापानबाटै प्रहरी अधिकारीलाई सम्पर्क गरेर घटनाको जानकारी दिएका थिए ।

स्रोतका अनुसार अधिकारीलाई केहीबेरमा काठमाडौं लैजाने प्रहरीको तयारी छ । कोशी प्रदेशसभा सदस्यसमेत रहेका अधिकारीलाई अनुसन्धानको दायरामा ल्याउन चौतर्फी दबाब परेको थियो । यद्यपि, उनले आफू अनुसन्धानमा सहयोग गर्न सदैव तयार रहेको बताउँदै आएका छन् ।

नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई रकम बुझाएर गत साता जापान पुगेका तीन युवालाई जापानको अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । अधिकारी सहभागी हुने कार्यक्रममै हिँडेको भन्दै जापान पुगेका उनीहरुलाई उनले नै फिर्ता ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएका हुन् ।

शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबार आइपुगेका चारै जनालाई अध्यागमन कार्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाउने तयारी गरेको थियो । तर, यस घटनाको सूचना आफैंले पहिले प्रहरीलाई दिएको बताएपछि अधिकारीलाई छाडिएको थियो ।

नक्कली कागजात बनाएर जापान पुगेका रसुवाका कञ्चन देवकोटा खोटाङका दावा शेर्पा र जनक राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तत्कालीन मन्त्री अधिकारी आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरिएको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान गएका थिए ।

अधिकारीले भने तीन जनालाई आफूले हङकङमा भेटेको र फिर्ता ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको बताउँदै आएका छन् । तीन जनामध्ये शेर्पासँग खोटाङको ऐंसेलुखर्क–२ को वडा सदस्यको नक्कली परिचयपत्र थियो भने देवकोटा र राईले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको परिचयपत्र बोकेका थिए ।

कर्मचारीको नक्कली परिचयपत्रमा ‘निमित्त कार्यालय प्रमुख’ का रूपमा अधिकारीकै हस्ताक्षर छ । नक्कली परिचयपत्र प्रहरीले बरामद गरिसकेको छ । परिचयपत्रमा रहेको हस्ताक्षर किर्ते गरेर राखिएको अधिकारीको जिकिर छ । तीन जनाको बयानका आधारमा प्रहरीले नुवाकोटको विदुरका जुगल रिजाल, दोलखाको जिरीका वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका महेशविक्रम पाण्डेलाई पनि पक्राउ गरिसकेको छ ।

अधिकारी स्वयंले ‘आफू गिरोहको चंगुलमा परेर’ जापान गएको भन्दै गल्ती स्वीकार गरिसकेका छन् । गिरोहको चलखेलका विषयमा आफू हङकङ पुगेपछि मात्र थाहा पाएको र जापान पुगेपछि नेपाल प्रहरीलाई खबर गरेको उनको भनाइ छ । आफूलाई प्रयोग गरेर मानव तस्करी भएको थाहा पाएपछि जापान पुगेर कार्यक्रममै सहभागी नभइकन अधिकारी फर्किएका थिए ।

उनले अनुसन्धानमा सहयोग गर्नका लागि भन्दै गत बुधबार कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिए । सत्तारुढ नेकपा (एमाले)आवद्ध अधिकारी मोरङको निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । जापान भ्रमण विवादपछि उनले पार्टीको जिम्मेवारीबाट समेत आफूलाई हटाउन माग गरेर निवेदन दिएका थिए । पार्टीले उनलाई तत्कालका लागि साधारण सदस्यबाट समेत शनिबार निलम्बन गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.