अटोमा कपडा तस्करी गर्दै गर्दा मोरङबाट ३ जना पक्राउ

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २५, आइतबार १५:३८

विराटनगर । अटो टेम्पोमा कपडा तस्करी गर्दै गर्दा मोरङबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

कपडा तस्करीमा संलग्न विराटनगर महानगरपालिका–१५ का २८ वर्षीय तबरेज अन्सारी, २२ वर्षीय अभिषेक चौधरी र अटो चालक ३५ वर्षीय ओमजित साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–४ स्थित बक्राहा पुलबाट तीनै जनालाई शनिबार पक्राउ गरिएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ह ६३०९ नम्बरको अटो नियन्त्रणमा लिएर खानतलासी गर्दा भन्सार छलीको अवैध कपडा फेला परेको जोशीले बताए । अटोबाट १ हजार ९२ थान टप्स र २० थान कुर्ता सलवार बरामद गरिएको उनको भनाइ छ ।

बरामद भएको कपडा करिब ३ लाख ३७ हजार ६ सय मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । अटो २ लाख ५० हजार बराबरको रहेको मूल्यांकन प्रहरीले गरेको छ ।

बरामद भएको कपडा र नियन्त्रणमा लिएको अटोसहित तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयको जिम्मा लगाइएको डीएसपी जोशीले बताए । उनका अनुसार अब भन्सार कार्यालयबाटै थप कारबाहीको प्रक्रिया अघि बढ्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.