
सिन्धुली । मकवानपुरका एक शिक्षकमाथि सिन्धुलीको हरिहरिपुरगढी गाउँपालिका–६ स्थित सिन्धुली–सर्लाही–कर्मैया सडक खण्डमा आइतबार अपरान्ह गोली प्रहार भएको छ ।
मकवानपुरको बागमती गाउँपालिका–१ घर भएका प्रेमबहादुर बम्जनमाथि ३ जनाको समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुली हुँदै घरतर्फ फर्कने क्रममा बम्जनमाथि नल कटुवा बन्दुकबाट गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार रौतहटको गैंटारस्थित आफन्तको घरबाट उनी फर्किदै थिए ।
उनी मकवानपुरको बकैया गाउँपालिका–३ हातिसुँडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । बम्जनले लगाएको हेल्मेटको दाहिनेतर्फबाट गाला छेडेर दाँतमा गोली अड्किएको प्रहरीको भनाइ छ ।
सिन्धुली प्रहरीका डीएसपी अनिल खड्काका अनुसार हेल्मेटले सुरक्षा गरेका कारण बम्जनको ज्यान जोगिएको हो । घाइते बम्जनलाई थप उपचारका लागि वीरगञ्ज लगिएको छ । मोटरसाइकलको पछाडि उनका भाइ दिलबहादुर बम्जन थिए । उनी भने सकुशल रहेको डीएसपी खड्काले बताए ।
‘बाटो ढुकेर बसेको समूहले गोली हानेको पाइयो । कुनै दुस्मनीका कारण घटना गराएजस्तो देखिन्छ । गोली हान्नेको पहिचान भइसकेको छैन । फरार रहेकाले खोजी तीव्र पारिएको छ,’ खड्काले भने ।

























