
झापा । झापामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एक जनाको सोमबार बिहानका राति मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका–१० त्रिवेणी टोलमा भाइटीकाको दिन कात्तिक १८ गते साँझ मे ६ प ३०७७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा मोटरसाइकल चालक हल्दिबारी गाउँपलिका–२ का अन्दाजी २२ वर्षीय सुमन मर्डी घाइते भएका थिए ।
उनलाई उपचारका लागि प्रदेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो । थप उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगियो । त्यहाँबाट पनि आफन्तले थप उपचारका लागि भनेर आफूखुसी भारततिर लगेको प्रहरीले जनाएको छ ।
भारतमा पनि उनको उपचार सम्भव भएन । त्यहाँबाट परिवारका सदस्यले घरमै ल्याएर राखेका थिए । कात्तिक २५ गते थप उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा भर्ना गरे ।
अस्पतालले उपचार सम्भव नभएको बताएपछि पुनः घरमै लगेर राखिएको थियो । घरमै राखिएका मर्डीको सोमबार बिहानका राति मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।























