
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय लिएको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले मंसिर १६ गतेको उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको हो ।
बैठकले उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारको नामसमेत अनुमोदन गरेको छ। पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिन नेता तथा कार्यकर्ताहरूलाई अपिल गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा सरकारको उपस्थिति कमजोर भएको र राम्रा काम गर्नेलाई हटाउने प्रयास भइरहेकाले सरकारविरुद्ध खबरदारीलाई सशक्त रुपमा अघि बढाउने निर्णयसमेत भएको छ । माओवादीले पार्टीको केन्द्रीय कमिटी बैठक आगामी पुस २ गतेका लागि आह्वान गर्ने निर्णय गरेको छ ।

























