
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य (प्रदेश सांसद) एवं पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले मंगलबार बिहान काठमाडौंको सनोभर्याङबाट पक्राउ गरेको छ ।
अपराधिक पृष्ठभूमिका मनाङे कात्तिक २० गते ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख दीपक थापाले लुकेर बसेको अवस्थामा मनाङे पक्राउ परेको पुष्टि गरे ।
प्रहरीले मनाङेलाई अदालतमा पेस गर्ने भएको छ । अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ । सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन अदालत)ले गरेको फैसलालाई सदर गरेको हो ।
पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद हुने फैसला गरेको थियो । सर्वोच्चले त्यही फैसलालाई सदर गरेको हो । दीपक मनाङेको समूहले २०६१ सालमा अर्का ‘गुन्डा नाइके’ मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार प्रहार गरेको थियो ।
त्यो घटनामा मनाङे समूहविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । तर, जिल्ला अदालतल काठमाडौंले मुद्दालाई कुटपिटमा परिणत गर्दै मनाङेलाई २ वर्ष कैद हुने फैसला गर्यो । गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
सरकार पक्षले जिल्लाको फैसलाविरुद्ध पाटनमा पुनरावेदन गरेको थियो । तत्कालीन पुनरावेदन अदालतल पाटनले २०६९ सालमा मनाङेलाई ५ वर्ष कैद हुने फैसला गर्यो । अरुको हकमा जिल्लाकै फैसला सदर भयो ।
सरकार पक्ष अन्य अभियुक्तलाई पनि सजाय हुनुपर्ने मागसहित सर्वोच्च गयो । सर्वोच्चका न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मुद्दामा २०७५ सालमा पाटनकै फैसला सदर गरेको थियो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएपछि मनाङे पक्राउ परेका थिए । तर, १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी रिहा भए ।
सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य निर्वाचन भएका थिए । पटकपटक मन्त्रीसमेत भए । सांसद र मन्त्री हुँदा पनि उनको भूमिका विवादास्पद नै रहयो ।

























