एकसाथ १३ हजार ९ सय छात्रालाई आत्मरक्षा तालिम

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २८, बुधबार १७:४४

वीरगन्ज । वीरगन्जमा एकसाथ १३ हजार ९ सय छात्रालाई आत्मरक्षा तालिम दिइएको छ । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रका निजी र सामुदायिक विद्यालयका छात्रालाई तालिम दिएको हो ।

आत्मारक्षाका लागि प्रशिक्षण दिइएका छात्राहरु कक्षा ६ देखि १२ सम्म अध्ययनरत छन् । भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टीले वीरगन्जको आदर्शनगरस्थित रंगशालामा बुधबार छात्राहरूलाई निःशुल्क आत्मारक्षासम्बन्धी प्रशिक्षण दिएका हुन्।

वीरगन्ज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न तालिमको खानेपानी मन्त्री प्रदीप यादवले उद्‍घाटन गरेका थिए। सरकारले महिला सशक्तीकरणका लागि दीर्घकालीन रूपमा ठोस कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।

यादवले वीरगन्ज महानगरपालिकाले एकसाथ नगर क्षेत्रका हजारौं छात्राहरूलाई तालिम दिएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफ्नो नाम दर्ता गर्न लागेकोमा खुसी लागेको बताए । तालिमले छात्राहरूलाई आत्माविश्वास बढाउने उनको भनाइ छ ।

‘सरकारले महिलालाई सशक्तिकरण गरी सक्षम बनाउने नीति लिएको छ,’ मन्त्री यादवले भने, ‘मधेसमा महिला हिंसाका घटना बढिरहेको बेला तालिमले अब हिंसा सहन सक्दैनन् र प्रतिकार गर्न महिला सक्षम छन् भन्ने सन्देश प्रवाह भएको छ ।’

मेयर राजेशमान सिंहले अब वीरगन्जका सामुदायिक तथा निजी विद्यालयमा प्रत्येक हप्ताको शुक्रबार आत्मरक्षाका लागि मार्शल आर्ट्ससम्बन्धी तालिम दिइने बताए। उनका अनुसार तालिम लिनका लागि १५ हजार १ सय छात्राहरूले नाम दर्ता गराएका थिए ।

नाम दर्ता गराएकामध्ये १२ हजार ९ सय ७४ जनाको फारम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा पुगिसकेको जानकारी सिंहले दिए । उनका अनुसार यसअघि भारतको आग्रास्थित एक स्थानीय तहले एकसाथ ७ हजार ४ सय १ जना छात्राहरूलाई आत्मारक्षाको तालिम दिएर वर्ल्ड रेकर्ड बनाएको थियो।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.