
काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने पक्राउ परेपछि रास्वपा आन्दोलित छ । उनलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै आन्दोलतमा रहेका रास्वपा नेताविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दायर भएको हो ।
अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित रिट दर्ता गरिएको छ । अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित अधिवक्ता अनुपम भट्टराईले मुद्दा दायर गरेका हुन् ।
मुद्दाको पेसी मंसिर ३ गतेलाई तोकिएको छ । रास्वपाका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी रिट निवेदनमा गरिएको छ ।
रिटमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ।

























