निर्मला पन्त हत्या प्रकरणको नयाँ सिराबाट अनुसन्धान गरिँदै

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २९, बिहीबार १५:०९

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारा अझैसम्म पत्ता लागेका छैनन् । पन्तको हत्यापछि अनेक कोणबाट कुराहरु आइरहेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । तर, अहिलेसम्म घटनामा संलग्नको पहिचान सम्भव भइरहेको छैन ।

हत्यामा संलग्न ६ वर्षसम्म पत्ता नलागेपछि नयाँ सिराबाट अनुसन्धान सुरु गर्ने तयारी भइरहेको छ । घटनाको यसअघि भएका सबै अनुसन्धान प्रतिवेदनको अध्ययन गर्न प्रहरी प्रधान कार्यालयले नयाँ समिति बनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एवं एआईजी दीपक थापाको नेतृत्वमा ७ सदस्यीय समिति बनेको छ । दुई महिनाअघि गठन भएको समितिलाई विगतमा गठन भएका सबै समितिका प्रतिवेदन अध्ययन गरेर निचोड एकीकृत गर्ने जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि भनेर विगतमा विभिन्न समिति बनेका थिए । समिति बनाएर जाँच गर्दा पनि अनुसन्धान सफल भएको छैन । विगतका प्रतिवेदनलाई अध्ययन गरेर अनुसन्धानको निचोडलाई एकीकृत गर्दै नयाँ ढंगबाट पुनः अनुसन्धान सुरु गर्ने तयारी प्रहरीको छ ।

सीआईबी प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार अहिलेसम्म भएका अनुसन्धानका राम्रा पाटाहरुलाई केलाएर छानबिन गर्ने तथा थप बुझ्ने काम भइरहेको छ । यहीबीचमा आफू घटनाको प्रत्यक्षदर्शी भनेर भ्रम फैलाउने अन्तर्वार्ता दिएको भन्दै गोरखाका नवराज अर्याललाई प्रहरीले सोधपुछ गरेको थियो । अन्तरर्वार्ता लिने पत्रकार ऋषि धमलासँग पनि प्रहरीले सोधपुछ गरेको छ ।

निर्मला पन्त प्रकरणमा पहिल्यैदेखि विभिन्न किसिमका भ्रामक सूचनाहरु फैलिएकाले अनुसन्धान प्रभावित भएको प्रहरीको बुझाइ छ । एसपी बोगटी निर्मला प्रकरणको अनुसन्धान प्रहरीकै लागि चुनौतीको विषय बनेको बताउँछन् । घटनाको सत्य तथ्य बाहिर ल्याउन प्रहरीले प्रयास गरिरहेको उनको भनाइ छ ।

बलात्कारपछि हत्या गरेर फ्यालेको अवस्थामा निर्मलाको शव फेला परेको छ । प्रहरीले घटनामा संलग्न भएको भन्दै ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउसमेत गर्यो । तर, भजाइनल स्वाबबाट निकालिएको नमुनासँग डीएनए नमिलेपछि उनी छुटेका थिए । प्रहरीले गलत मान्छेलाई पक्राउ गरेको भनेर आन्दोलन चर्किएको थियो ।

घटना भएयता प्रहरीले दर्जनौ व्यक्तिहरुलाई सोधपुछ गरेको थियो । डीएनएसमेत परीक्षण भएको थियो । तर, अहिलेसम्म अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.