
काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले मंसिर ७ गते काठमाडौंमा जागरणसभाको आयोजना गर्ने भएको छ । सरकारको नेतृत्व गरिरहेको एमालेले जागरणसभाका नाममा शक्ति प्रदर्शन गर्न खोजेको हो ।
मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आमनागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने भन्दै्र एमालेले शक्ति प्रदर्शन गर्न खोजेको छ । समाजमा बढ्दो बेथितिविरुद्ध आफ्ना नेता–कार्यकर्ता परिचालन गर्दै उपत्यकास्तरीय प्रदर्शन गर्ने तयारी भइरहेको एमालले जनाएको छ ।
सभा र प्रदर्शनमा करिब १ लाख नेता–कार्यकर्ता सडकमा उतार्ने एमालेको तयारी छ । एमालेका अनुसार उपत्यकाका तीनवटै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सम्पूर्ण पार्टी शक्ति परिचालन गरिने छ ।
सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईले जानकारी दिए । एमालेले भट्टराईकै नेतृत्वमा ११ सदस्यीय जागरणसभा संयोजन समिति बनाएको छ ।
सरकारलाई खबरदारी भन्दै प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले यसअघि कात्तिक १० गते काठमाडौँको भृकुटीमण्डमा खबरदारीसभा गरेको थियो । माओवादी केन्द्रले देशैभरका ७५३ वटै पालिकामा खबरदारीसभा गर्ने घोषणा गरिसकेको छ ।

























