
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमन्त्री बन्द्री पाण्डेले आफ्नै पार्टीका सांसदविरुद्ध उजुरी दिएका छन् ।
पाण्डे नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । उनले दलकै नेता तथा सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दर्ता गराएका हुन् । आफूविरुद्ध श्रृङ्खलाबद्ध हिसाबले कुप्रचार गरेको दाबीसहित पाण्डेले बजगाईंविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएको उनको सचिवालयले जनाएको छ।
उनले बजगाईंलाई अनुशासनको कारबाही हुनुपर्ने माग गरेका छन् । अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार उजुरी दर्ता भएको सचिवालयले जनाएको छ ।
सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै श्रृङ्खलाबद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरूमा कुप्रचार गर्ने गरेको गुनासो मन्त्री पाण्डेको छ । सांसद बजगाईंले अमर्यादित, अवाञ्छित अराजक तथा गैरकानुनी काम गरेकाले उनीमाथि अनुसन्धान गरी कारबाही गर्न मन्त्री पाण्डेको माग छ ।
उजुरीमा पाण्डेले आफ्नो व्यक्तिगत र राजनीतिक जीवनलाई निष्ठा इमानदारी र नैतिकताको मार्गमा अविचलित रूपमा अगाडि बढाइरहेको दाबी गरेका छन् । बजगाईंको अवाञ्छित, अराजक र गैरकानुनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धति, मर्यादा, कानुन र अनुशासनको गम्भीर उल्लंघन भइरहेको पाण्डेले उल्लेख गरेका छन् ।
पछिल्लो समय मन्त्री पाण्डे र सांसद बजगाईंबीच विवाद बढ्दो छ । मन्त्रीमाथि कात्तिक २७ गते सामाजिक सञ्जाल ट्विटर (एक्स) र फेसबुकमार्फत बजगाईंले आरोप लगाएका थिए ।
एक क्यासिनोलाई इजाजत दिँदा मन्त्री पाण्डेले भ्रष्टाचार गरेको भन्दै बजगाईंले सामाजिक सञ्जालमा लेखेका हुन् । मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लगाएकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगार्इंले पाण्डेविरुद्धका सबै पोस्टहरू हटाएका थिए ।

























