
विराटनगर । आगामी मंसिर १६ गतेको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज (आइतबार) हुँदै छ । निर्वाचन आयोगले तोकेको योग्यता पुगेका राजनीतिक दलबाट उठ्ने तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिन सक्ने छन् ।
स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपचुनाव हुने छ । त्यसका लागि निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
साँझ ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने छ । मुलुकका उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ । मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी गरेर ४ गते साँझ ५ देखि ६ बजेसम्मा उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ ।
मंसिर ५ गते बिहान ९ देखि १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय छुट्याइएको छ । १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने छ ।
ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष तथा दोलखाको गौरीशंकर गाउँपालिका, रुकुम पूर्वको पुथा–उत्तरगंगा गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपलिका– ६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका– ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका– १ र ४, धनुषाको धनुषाधाम नगरपालिका– १, महोत्तरीको रामगोपालपुर नगरपालिका– २, रौतहटको ईशनाथ नगरपालिका– ७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका– ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
काठमाडौंको कीर्तिपुर नगरपालिका– १ र ४, काठमाडौं महानगरपालिका– १६, नुवाकोटको ककनी गाउँपालिका– २, मकवानपुरको हेटौँडा नगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका– ५, गुल्मीको मुसिकोट नगरपालिका– १, रोल्पाको रुन्टीगढी गाउँपालिका– ४, बर्दियाको ठाकुरबाबा नगरपालिका– ४, रुकुम (पूर्वी) पुथा उत्तरगंगा गाउँपालिका– २ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा वडाध्यक्ष पदका लागि निर्वाचन हुने छ ।
दैलेखको दुल्लु नगरपालिका– १३, कालिकोटको तिलागुफा नगरपालिका– ४, जाजरकोट कुशे गाउँपालिका– ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५, रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका– ५, बझाङको सुर्मा गाउँपालिका– ४, डोटीको पूर्वीचौकी गाउँपालिका– ६, दार्चुलाको दुहुँ गाउँपालिका– ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ मा वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।
कस्ता व्यक्ति उम्मेदवारी दिन योग्य र अयोग्य हुन्छन् ?
आयोगले मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यताका बारेमा तोकेको छ । २१ वर्ष उमेर पूरा भएको, उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा कुनै कानुनले अयोग्य नभएको उम्मेदवारको मात्र मनोयन दर्ता गर्न पाउने छन् ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ बमोजिम अयोग्य भएको व्यक्ति, गैरनेपाली नागरिक वा नेपालको नागरिक नभएको व्यक्ति र नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिलाई स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार मनोनयन गर्न आयोगले रोक लगाएको छ ।
यसैगरी कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाएर त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्तिले उम्मेदवार बन्न पाउने छैनन् । भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा बीस वर्ष अर्थात सो भन्दा बढी कैदको सजाय पाएर त्यस्तो फैसला अन्तिम भएको व्यक्तिको मनोनयत दर्ता हुने छैन ।
संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति, जातीय भेदभाव तथा छुवाछूत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाएर त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।
कानुन बमोजिम कालो सूचीमा रहेको व्यक्ति कालो सूचीमा रहेको अवधिभर, कुनै कसुरमा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको र प्रचलित कानुनले अयोग्य भएको व्यक्तिको मनोयन दर्ता नहुने आयोगले स्पष्ट पारेको छ । जिल्ला समन्वय समितिको उपनिर्वाचनको हकमा प्रचलित कानुन बमोजिम निलम्बनमा रहेका पदाधिकारी उक्त अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

























