
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई लगाएको लाञ्छनाप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।
एमालेका परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्डले नोभेम्बर १४ मा भारतीय पत्रिका द हिन्दूसँगको अन्तर्वार्तामा एमाले अध्यक्ष केपी ओलीले चाइना कार्ड प्रयोग गरे भनि गरेको टिप्पणीको भर्त्सना गरेका हुन् । ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड प्रयोग गरेर चीन भ्रमणको निर्णयलाई ‘अपरिपक्वताको प्रमाण भनेर लेबल लगाउनु निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्याउने कार्य हो’, विज्ञप्तिमा लेखिएको छ ।
यस्तो कार्य कूटनीतिक प्रोटोकलको सरासर उल्लंघन भएको एमालेले जनाएको छ । प्रचण्डको अभिव्यक्तिले नेपालको स्वतन्त्रताको पूर्ण अपहेलना भएको एमालेको ठहर छ । ‘सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले नेपाललाई आफ्नो कूटनीतिक संलग्नताका लागि कुनै बाह्य स्वीकृति आवश्यक पर्दैन । प्रधानमन्त्रीको चीन भ्रमणको निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्ब हो । झुटो दाबी गरिएको ‘कार्ड कूटनीति’ को जुवा होइन’, विज्ञप्तिमा लेखिएको छ ।
प्रचण्डको भनाइले नेपालले आफ्ना दुई मित्र छिमेकी भारत र चीनसँग कायम राखेको सन्तुलनलाई कमजोर बनाउने एमालेको ठहर छ । एमालेले भारत र चीन दुवै नेपालको विकास र समृद्धिको हिस्सा भएको स्पष्ट पारेको छ । यस्ता विचारहीन टिप्पणीले दुई छिमेकी राष्ट्रहरूसँग नेपालको बलियो र समान साझेदारीलाई जोखिममा पार्ने खतरा रहेको एमालेले जनाएको छ ।
राष्ट्रिय बहसमा रचनात्मक रूपमा संलग्न हुनुको सट्टा प्रचण्डले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानमा आँच पुर्याउने आधारहीन आरोप लगाएको एमालेले जनाएको छ । ‘उहाँको भनाइले नेपालको सार्वभौमसत्ताप्रतिको घृणा र राष्ट्रको स्वाभिमानको मूल्यमा राजनीतिक चालबाजी गर्ने प्रवृत्ति झल्काउँछ’, विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व र राजनीति प्रदर्शन गरेको एमालेको दाबी छ । ‘उहाँको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिको दृष्टिकोणले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै भारत र चीन दुवैसँग आपसी सम्मान र सहयोगलाई बढवा दिन्छ’, विज्ञप्तिमा लेखिएको छ ।
परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको एमालेले स्पष्ट पारेको छ । यसले बुद्धि, सावधानी र जिम्मेवारीको माग गर्ने बताउँदै एमालेले प्रचण्डको भनाइ निराधार मात्रै नभई नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि पनि हानिकारक रहेको जनाएको छ ।
नेपालको परराष्ट्र नीति मौलिक रूपमा असंलग्नता, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्तमा आधारित रहेको एमालेले स्पष्ट पारेको छ । एमालेले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्याउँदै प्रचण्डलाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ ।

























