
झापा । झापाको बाह्रदशी गाउँपालिका–५ मा शनिबार राति एक जना पुरुषको हत्या भएको छ ।
बाह्रदशी–५ का ४५ वर्षीय गंगालाल माझीको हत्या भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार बाह्रदशी–५ फूलबारीका २६ वर्षीय मानकुमार राजवंशीले राति ९ः२० बजेतिर रड प्रहार गर्दा माझी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याउनसाथ राति ९ः५५ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी चन्दले दिए । पुरानो रिसईबीका कारण राजवंशीले माझीको टाउकोमा रडले प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यद्यपि, उनीहरुबीचमा कस्तो खालको पुरानो रिसईबी थियो भनेर प्रहरीले खुलाएको छैन । घटनामा संलग्न राजवंशीलाई हत्यामा प्रयोग गरिएको रडसहित पक्राउ गरेर घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

























