रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २, आइतबार १८:०१

काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनका व्यावसायिक साझेदार, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालको इजलासले दुवै जनालाई पक्राउ गर्न आइतबार अनुमति दिएको हो । प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गराएसँगै रवि र छविविरुद्ध काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न बाटो खुलेको छ ।

यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो ।

यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध यसअघि पक्राउ पुर्जी जारी भएको थियो । सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् । उनी हालसम्म फरार छन् ।

उक्त सहकारीको ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

रवि यसअघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । रवि र छवि दुवै जना अहिले कास्की प्रहरीको हिरासतमा छन् । दुवै जनालाई रुपन्देहीमा समेत लगेर बयान लिइएको थियो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.