
काठमाडौं । स्थानीय तहको आगामी उपनिर्वाचनका लागि ४ सय ७ जना मैदानमा उत्रिएका छन् ।
आइतबार बिहान १० देखि साँझ ५ बजेसम्ममा मनोनयको समय तोकिएको थियो । ४४ पदका लागि मनोनयन दर्ता गरेर उम्मेदवार चुनावमा होमिएका हुन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी ८४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
गाउँपालिका र नगरपालिकाको वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २ सय ९३ पुरूष र १ अन्य गरी जम्मा ३ सय २३ जनाले उम्मेदवारी दिएका छन् । आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ महिला र ओखलढुंंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरुष उम्मेदवारको मनोनयन दर्ता भएको बताइन् ।
सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ र बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्ष पदमा ३/३ जनाको उम्मेदवारी परेको उनको भनाइ छ । आयोगका अनुसार मनोनयन शन्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
आज उम्मेदवारी दर्ता गरेकाको विरोधमा उजुरी दिने समय सोमबार (मंसिर ३ गते) बिहान १० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुने छ । बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

























