ग्रामथानमा उपनिर्वाचन : पार्टीको नाम नै बिर्सिन्छन् माओवादी उम्मेदवार

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ३, सोमबार १४:४२

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा यतिबेला उपनिर्वाचनको चटारो छ । गाउँपालिकाको अध्यक्ष पदका लागि १६ जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिनेमध्ये एक हुन्, नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी । नेपाली कांग्रेस पृष्ठभूमिका उनी केही समयअघि मात्रै माओवादी प्रवेश गरे । ५४ वर्षीय उनले माओवादी बनेपछि पार्टीबाट गाउँपालिका अध्यक्षको टिकट नै पाए ।

चुनावी नतिजा आफ्नो पक्षमा पार्न अरु उम्मेदवारजस्तै अहोरात्र खटिएका छन् । मतदाता भेटघाट र घरदैलोलाई तीव्र पारेका छन् । उनलाई पार्टी प्रवेश गराउनेदेखि अध्यक्षको टिकट दिलाउन माओवादी नेता, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य अमनलाल मोदीको ठूलो भूमिका छ ।

हुन त पार्टीमा वर्षौदेखि योगदान पुर्याएकालाई टिकट नदिएर नवप्रवेशीलाई अवसर प्रदान गरिएको भन्दै माओवादीभित्र तीव्र असन्तुष्टि छ । पार्टीको निर्णयले माओवादीका नेता कार्यकर्ता खिन्न छन् । अवसरवादलाई प्राथमिकता दिने र योगदान पुर्याउने कार्यकर्तालाई बेवास्ता गर्ने माओवादीको पुरानै रोग रहेको चर्चा बेलाबेला चल्छ ।

माओवादीले पनि त्यस्तै व्यवहार प्रस्तुत गर्छ । ‘हामी पार्टीका लागि मरीमरी काम गर्छौं । तर, अवसर चैं भर्खर पार्टीमा छिरेकाले पाउँछन् । यसले सक्रिय नेता कार्यकर्तालाई निराश बनाएको छ । हाम्रो योगदानलाई नजरअन्दाज गर्ने काम हुन्छ,’ ग्रामथानका एक जना माओवादीले नेताले भने ।

उनका अनुसार पार्टीको गलत निर्णयले अहिलेको चुनावमा नेता कार्यकर्ता सक्रिय भएर लागेका छैनन् । ‘चुनाव आयो । तर, उत्साह छैन । वर्षौदेखि माओवादी बनेर हिँडेका हामीले अरु पार्टीलाई सहयोग गर्ने कुरा पनि भएन । त्यही भएकाले जेसुकै गरुन् भनेर चुपचापजस्तै बसिएको छ,’ ती नेताले भने ।

पार्टीभित्र असन्तुष्टि चुलिँदै गइरहेका बेला नमोनारायणसँग आइतबारदेखि अर्को रोचक प्रसंग पनि जोडिन पुग्यो । आगामी उपनिर्वाचनका लागि तामझाम र दलबलसहित उम्मेदवारहरु मनोनयन गर्दा गराउन ग्रामथानको तेतरियास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने क्रम चलिरहेको थियो ।

अमनलालसहितका नेताको साथमा नमोनारायण पनि पुगे । त्यत्तिकैमा पत्रकारलाई उनले आफ्नो चुनावी अभियान र जितको आधारका बारेमा बताउन चाहे । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि विकास निर्माणदेखि भ्रष्टाचार अन्त्यसम्मका एजेन्डा बोकेर नमोनारायण चुनावी अभियानमा होमिएका छन् ।

चर्को आलोचना गरेर विपक्षीलाई कमजोर देखाउँदै आफू चुनाव जित्ने ध्याउन्नमा उम्मेदवारहरु सक्रिय छन् । तर, नमोनारायणकै भनाइलाई आधार मान्ने हो भने उनी अरु उम्मेदवारको विरोध गर्दैनन् । आफ्ना एजेन्डा जनतासम्म पुर्याउने काम गर्छन् ।

‘चुनाव हो । हारे पनि जिते पनि जनताबाट टाढा हुँदिन । त्यो कुरा यहाँका जनताले बुझेका छन् । म कसैको व्यक्तिगत हिसाबले विरोध गर्दिन । जनतामाझ मेरो एजेन्डा लिएर जान्छु । अरु उम्मेदवार चैं अर्काको विरोध गर्छन् । व्यक्तिगत चरित्र हत्या गर्छन् । व्यक्तिगत विरोधभन्दा पनि आफ्ना एजेन्डा जनतामाझ पुर्याउनुपर्छ । त्यसमा म सचेत छु,’ मुलुकी खबरसँग उनले भने ।

तर, आइतबार मनोनयन दर्ताका क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदा नमोनारायण नराम्ररी चिप्लिएका छन् । उनले आफू चुनाव लडेको दल नै बिर्सिए । आफ्नो दलको ठाउँमा नेकपा (एमाले)को नाम भन्न भ्याए । ‘माओवादीका उम्मेदवार आफ्नो पार्टीको नाम नै बिर्सिन्छन्’ भन्ने सन्देश छाडिदिए ।

उनले भनेका थिए, ‘नमस्कार, म नमोनारायण माझी, नेकपा (एमाले)बाट’ । तर, उनले त्यति भन्न नपाउँदै छेउमा रहेका माओवादी नेता अमनलालले ‘ए’ भनेर सम्झाए । झस्किएका नमोनारायणले ‘सरी’ भन्दै कुरा सच्याए । त्यसपछि आफू उम्मेदवार बनेको पार्टीको नाम लिएर आफ्ना कुरा अघि बढाए ।

त्यसै पनि नमोनारायणमाथि पटकपटक दल फेर्ने गरेको आरोप छ । माओवादीबाट उम्मेदवार बन्नुअघि कांग्रेसमा थिए । उनी कांग्रेस छाडेर गत भदौ २९ गते माओवादी प्रवेश गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित आमसभामा उनी पार्टी प्रवेश गरेका हुन् ।

नमोनारायण भने भिडभाडमा जिब्रो चिप्लिएको बताउँछन् । ‘भिडभाड थियो । जिब्रो चिप्लियो । एमालेको नाम लिए पनि उम्मेदवार त म माओवादीकै हो । यसमा मेरो थप प्रतिक्रिया छैन,’ उनले भने ।

उनी यसअघि २ पटक जनप्रतिनिधि भइसकेका छन् । पहिलोपटक २०५४ सालमा तत्कालीन लखन्तरी गाविस (गाउँ विकास समिति)को अध्यक्षमा कांग्रेसबाट निर्वाचित भएका थिए । लखन्तरी हाल ग्रामथान–१ मा पर्छ ।

२०७४ सालमा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट ग्रामथान–१ को वडाध्यक्ष निर्वाचित भए । पछि फोरम लोकतान्त्रिक र कांग्रेसबीच पार्टी एकीकरण भयो । नमोनारायण २०६० सालमा विदेश गएका थिए । १४ वर्ष विदेशमै बिताए । ७ वर्ष मलेसिया र ७ वर्ष दुबई बसेर फर्किएपछि उनले वडाध्यक्षमा चुनाव लडेका हुन् ।

२०७९ को निर्वाचनमा भने उनले कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । तर, पार्टीले जयप्रकाश गच्छदारलाई टिकट दियो । नमोनारायण भने कांग्रेसविरुद्ध बागी हाल्दै ग्रामथान–१ को वडाध्यक्षमा स्वतन्त्र हिसाबले चुनाव लडे । पराजित हुन पुगे ।

अहिले माओवादीबाट गाउँपालिका अध्यक्षकै टिकट पाएका छन् । २०७९ मा कांग्रेसले टिकट नदिएपछि आफू स्वतन्त्र उठेको नमोनारायण बताउँछन् ।

ग्रामथान मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ । त्यहाँबाट २०७४ र २०७९ सालमा माओवादीका अमनलाल प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७४ सालमा एमालेसँग र २०७९ सालमा कांग्रेससँग गठबन्धन गरेर माओवादीले चुनाव लडेको थियो ।

‘यो ठाउँ (ग्रामथान)मा माओवादी सांगठनिक हिसाबले कमजोर छ । माओवादीको जनमत राम्रो छैन,’ नमोनारायण भन्छन्, ‘मैले चुनाव आफ्नै व्यक्तिगत प्रभावले जित्ने हो । यसअघि गाविस अध्यक्ष र वडाध्यक्ष हुँदा गरेका राम्रा काम मेरो चुनाव जित्ने आधारहरु हुन् ।’ उनी अरुले जस्तो काल्पनिक कुरा नगरेको र आफूले पदमा हुँदा गाउँमा विकास निर्माणदेखि जनताका पिरमर्कामा ध्यान दिएको बताउँछन् ।

नमोनारायण आफ्नो जित अमनलालको प्रतिष्ठाको विषय पनि भएको बताउँछन् । ‘उहाँ (अमनलाल)ले यसअघि २ पटक चुनाव जितिसक्नु भएको छ । तर, एकपटक एमाले र अर्कोपटक कांग्र्रेससँग माओवादीको गठबन्धन भएकाले जित्न सजिलो भयो । अहिले सबै एक्लाएक्लै चुनाव लडेका छौं । तर, मलाई जनताले विकासप्रेमी भनेर चिन्छन् । पार्टीको सहयोगसँगै मेरो व्यक्तिगत प्रभावले जित्छु,’ उनले भने ।

२०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । असार ३ गते उनको निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.