
काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ गरेर पोखरा लगिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेलाई मंगलबार काठमाडौँ ल्याइएको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा उनी पक्राउ परेका थिए । कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याइएका उनी अर्को सहकारी प्रकरणमा पनि जोडिएका छन् ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनसँग जोडिएको मुद्दाको बयानका लागि जोशीलाई काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । बुधबारबाट बयान सुरु हुने बताइएको छ । यो सहकारीका अध्यक्ष पनि गितेन्द्रबाबु (जीबी) राई हुन् ।
स्वर्णलक्ष्मी ठगी प्रकरणमा राई, जोशी र पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २१ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । राई हालसम्म फरार छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई पनि यो प्रकरणको बयानका लागि काठमाडौं ल्याइने छ ।
बयान सकेर पोखरा नै पठाइने छ । त्यहाँ संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ । स्वर्णलक्ष्मी सहकारीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

























