
काठमाडौं । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग सांसद राजेन्द्र बजगाईंले माफी मागेका छन् ।
मन्त्री पाण्डे र सांसद बजगाईं दुवै जना नेपाली कांग्रेसका हुन् । बजगाईंले मन्त्री पाण्डेलाई लगाएको आरोपसमेत फिर्ता लिएका छन् । क्यासिनोलाई लाइसेन्स वितरण गर्दा मन्त्री पाण्डेले करोडौं घुस खाएको आरोप सांसद बजगाईंले लगाएका थिए ।
उनको आरोपप्रति आपत्ति जनाउँदै मन्त्री पाण्डेले अनुशासनको कारबाही हुनुपर्ने माग राखेर पार्टीमा उजुरी दिएका थिए । पार्टीले स्पष्टीकरण सोधेपछि पाण्डेले आफ्नो अभिव्यक्ति फिर्ता लिँदै माफी मागेका हुन् ।
सामाजिक सञ्जाल एक्स र फेसबुकमा दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफलसमेत भएको बजगाईंले बताए । ‘मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यस कारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु,’ उनले भनेका छन् ।

























