‘हनी ट्र्याप’ प्रकरणको अनुसन्धान सकियो, इन्स्पेक्टरसहित ६ जनालाई प्रतिवादी बनाउनुपर्ने राय

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ५, बुधबार १४:२६

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले इन्स्पेक्टर विनुकुमारी शाही जोडिएको ‘हनी ट्र्याप’ प्रकरणको अनुसन्धान सकेको छ ।

सीआईबीले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालय ललितपुरमा पठाएको हो । आपराधिक लाभ र संगठित अपराधको कसुरमा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने राय सीआईबीले दिएको छ ।

सीआईबीका प्रवक्ता एवं एसपी होविन्द्र बोगटीले अनुसन्धान सकिएको र ६ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिइएको बताए । मिसिल अध्ययनपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै अभियुक्तविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गर्ने छ ।

शाही विवादमा पर्दा प्रहरी प्रभाव भैंसेपाटीमा कार्यरत थिइन् । यस घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । यो विवादमा एसपी कमल थापा पनि मुछिएपछि सीआईबीले थप अनुसन्धान अघि बढाएको थियो ।

सीआईबी स्रोतका अनुसार थापालाई भने तत्काल मुद्दा चलाउनुपर्ने देखिएन । ‘उहाँमाथि अझै अनुसन्धान जारी छ,’ स्रोतले भन्यो, ‘अहिल्यै मुद्दा चलाउनुपर्ने अवस्था देखिएन ।’

सीआईबीले इन्स्पेक्टर शाही, दर्शन पोखरेल, भैंसेपाटीकै सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको छ । शाही र पोखरेल फरार छन् । अरु पक्राउ परिसकेका छन् ।

यो समूहले युवती प्रयोग गरेर बलात्कारमा फसाइदिने भन्दै एक जना व्यवसायीलाई ‘हनी ट्र्याप’मा पारेर ३० लाख रूपैयाँ असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सुष्मा विक ‘हनी ट्र्याप’मा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती हुन् ।

ताज स्लाम ‘हनी ट्र्याप’को मुख्य योजनाकार रहेको प्रहरीको निष्कर्ष छ । सहायक हवल्दार हमालले युवतीको प्रयोग गरेर व्यवसायीबाट असुलेको रकम दुई पटक आफैंले बैंकमा जम्मा गर्न लगाएका थिए । असुल गरिएको रकम थापाको बैंक खातामा जम्मा गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.