सवारी चालकलाई धमाधम ट्राफिकको प्रशिक्षण

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ६, बिहीबार १५:०२

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी चालक (ड्राइभर)लाई धमाधम प्रशिक्षण दिन थालेको छ । यात्रुवाहक तथा मालवाहक सवारीसाधनका चालक लक्षित प्रशिक्षण तीव्र पारिएको हो ।

पछिल्लो पटक विराटनगर बसपार्कमा करिब ७० जना चालकलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिइएको छ । मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणका लागि बसपार्कस्थित ट्राफिक प्रहरीका असइ टंक मगरले सहजीकरण गरेका थिए ।

प्रशिक्षण दिँदै इन्स्पेक्टर लम्सालले सडक प्रयोगकर्ताहरु सतर्क हुनुपर्नेमा जोड दिए । सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउन र ट्राफिक नियमको पालना गर्न उनको आग्रह छ ।

‘सवारी चालक तथा पैदलयात्रीले समेत सावधानी अपनाउनुपर्ने हुन्छ । विशेष गरेर गाडी हाँक्दा चालक बढी होसियार हुन आवश्यक छ,’ लम्सालले भने । चालकलाई अगाडिको सवारीसाधनसँगको दूरी बढाउन र कम गतिमा तथा ढोका बन्द गरेर मात्रै सवारीसाधन चलाउन आग्रह गरिएको उनले बताए ।

‘तीव्र गतिका कारण सवारी दुर्घटना अत्यन्तै बढेको छ । चालकसहितका सडक प्रयोगकर्ताहरुको असावधानी मुख्य कारण हो,’ उनी भन्छन्, ‘कहिलेकाहीँ यान्त्रिक गडबडीले पनि दुर्घटना हुन्छ । मानवीय कमजोरी त छँदै छ ।’ पैदलयात्रीदेखि सफारीलगायतका सवारीसाधनका चालकले नियम धेरै उल्लंघन गर्ने गरेको उनको भनाइ छ ।

लम्सालका अनुसार पैदलयात्रीले जथाभावी बाटो काट्दा तथा सवारीसाधन तीव्र गतिमा कुदाउँदा दुर्घटना अत्यधिक हुने गरेको हो । सुरक्षाका दृष्टिकोणले दायाँबायाँ राम्ररी हेरेर सुरक्षित स्थानबाट मात्रै बाटो काट्नुपर्ने उनी बताउँछन् ।

लम्सालले सबै पक्षले सावधानी अपनाउँदा मात्रै दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने र मानवीय एवं भौतिक क्षति हुनबाट जोगिने बताए । आफू सुरक्षित हुनुपर्छ र अरुको सुरक्षामा पनि ध्यान दिनुपर्छ,’ उनी भन्छन् । यात्रालाई भरपर्दो र सुरक्षित बनाउन सावधानी अपनाउनु सबैभन्दा उत्तम उपाय हुने कुरामा विशेष जोड दिँदै चालकहरुलाई प्रशिक्षण दिइएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.