
विराटनगर । लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । अभियानको पहिलो दिन आज विराटनगर महानगरपालिकाको आयोजनामा बाजागाजासहितको जनचेतनामूलक बृहत् र्याली निकालिएको हो ।

महानगरको कार्यालयबाट सुरु भएको र्यालीले शनिहाट, जिल्ला प्रशासन कार्यालय, अस्पताल चोक, ट्राफिक चोक हुँदै महेन्द्र चोक पुगेको थियो ।

र्यालीमा सहभागीहरुले ‘सबैको प्रतिबद्धता लैंगिक हिंसाअन्त्यका लागि एक्यबद्धता, महिलाको कामको पहिचान र सम्मान गरौं, महिलामाथि हुने सबै प्रकारका भेद्भभाव र हिंसा बन्दा गराै, लैंगिक न्यायसहितको समाज आजको आवश्यकता, हिंसा प्रभावितको सामाजिक न्याय सुनिश्चितताको वातावरण तयार गरौं, मौनता तोडौं लैंगिक हिंसाविरुद्ध बोलौं’ भन्ने सचेतनामूलक प्लेकार्डसहितको र्याली महेन्द्र चोकमा पुगेर कार्यक्रममा परिणत भयो ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले १६ दिने अभियानलाई ३ सय ६५ दिनकै अभियान बनाएर हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिए ।

उनले हिंसा समाज विकासको बाधक भएको भन्दै सबै मिलेर लैंगिक न्यायसहितको समाज निर्माण गर्नुपर्ने बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले हिंसालाई शून्यमा पुर्याएर समृद्ध समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताए ।

कार्यक्रमकी अध्यक्षता गरेकी विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले महिला मात्रै नभएर पुरुष पनि हिंसामा पर्ने गरेको बताइन् ।

उनले कोही पनि पुरुष हिंसामा परेको भए न्यायिक समितिमा उजुरी दर्ता गर्नुहोस् नाम गोप्य राख्ने भनिन् ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैहसरकारी संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

























