ग्रामथानमा चुनावको चटारो : कसले मार्ला बाजी ?

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १०, सोमबार १८:४८

विराटनगर । मोरङको ग्रामथान कोशी प्रदेशकै एउटा मात्रै महानगरपालिका विराटनगरसँग सीमा जोडिएको स्थानीय तह हो ।

थारु समुदायको बाहुल्यता रहेको ग्रामथानको पश्चिम–दक्षिणतर्फ विराटनगर पर्छ । साथै, पूर्वमा रंगेली र बेलबारी नगरपालिका, पश्चिममा विराटनगरसहित बूढीगंगा गाउँपालिका, उत्तरमा सुन्दरहरैँचा नगरपालिका र दक्षिणमा विराटनगर महानगरसहित कटहरी गाउँपालिकासँग सीमा जोडिएको छ ।

मोरङको विभिन्न पालिकाहरुको बीचमा रहेको ग्रामथानमा अध्यक्ष चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । यतिबेला ग्रामथानमा चुनावको चटारो छ । विभिन्न साना र ठूला दलबाट १५ एवं स्वतन्त्र १ सहित १६ जना उम्मेदवार मैदानमा छन् ।

उम्मेदवारहरु पूर्वाधार निर्माणदेखि कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलगायतका एजेन्डा बोकेर मतदाता फकाउँदै भोट माग्न व्यस्त छन् । निक्कै अघिदेखि घरदैलो अभियान तीव्र बनाएर मतदाताको मन जित्दै नतिजा आफ्नो पक्षमा पार्न लागिरहेका छन् । समर्थक र शुभचिन्तक पनि आफ्ना उम्मेदवार जिताउन अहोरात्र खटिन्छन् । पार्टीका उम्मेदवार जिताउन विभिन्न दलका केन्द्रीय नेता नै सक्रिय छन् ।

चुनावको चटारोले व्यस्त रहेको ग्रामथानमा कसको पल्ला भारी छ र कसले बाजी मार्ला ? भनेर चर्चा परिचर्चा उत्तिकै हुन्छ । यद्यपि, यही उम्मेदवारले चुनाव जित्छन् भनेर सहज हिसाबले आकलन गर्न सक्ने अवस्था भने छैन ।

तर, चुनावी माहोलले छपक्कै छोपेको ग्रामथानका सडक र चोकहरुमा पार्टीका झण्डा, ब्यानरलगायतका प्रचार सामग्री प्रशस्त देख्न सकिन्छ । उम्मेदवारको फोटोसहितको पोष्टर र पर्चा जताततै टाँसिएका छन् । यसरी प्रचार गर्नेमा ठूला दलहरु अगाडि छन् ।

ग्रामथानमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले १–१ पटक चुनाव जितेको विगत छ । २०७४ सालमा एमाले र २०७९ सालमा कांग्रेसका उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

२०७४ मा एमालेका शिवनारायण माझी थारु ४ हजार ७ सय २० मतसहित अध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी तत्कालीन फोरम लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारुले ४ हजार ६ सय ६१ मत ल्याएका थिए ।

अघिल्लो चुनावमा ५९ मतान्तरले विजयी भएका शिवनारायणलाई २०७९ मा कांग्रेसबाट उम्मेदवार बनेर जयप्रकाशले पराजित गरे । उनीहरुबीचको मतान्तर १ हजार ५ सय १२ थियो । जयप्रकाशले ७ हजार ६ सय ५ मत पाउँदा शिवनारायण ६ हजार ९३ मतमा सीमित भएका थिए ।

गाउँपालिका अध्यक्षमा निर्वाचिन जयप्रकाशको गत असार ३ गते निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । यसअघि दुईपटक आलोपालो चुनाव जितेका दललाई यो पटक भने सहज नभएको विश्लेषण गर्न थालिएको छ ।

कांग्रेस छाडेका नमोनारायण माझी नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षका उम्मेदवार छन् । यद्यपि, नवप्रवेशीलाई टिकट दिएको र पुराना एवं पार्टीभित्र योगदान गरेकालाई पाखा लगाइएको भनेर माओवादीभित्र तीव्र विवाद र असन्तुष्टि छ ।

नमोनारायणलाई जिताउन पूर्वमन्त्री एवं संघीय सांसद अमनलाल मोदी कमाण्डर बनेर खटिएका छन् । नमोनारायणलाई पार्टी प्रवेश गराउनेदेखि टिकट दिलाउनेसम्मको भूमिका अमनलालले खेलेका थिए । उनलाई सघाउन माओवादीका कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्जहरू सावित्रीकुमार काफ्ले, अजम्बर काङ्माङ राई, राष्ट्रियसभामा माओवादीका प्रमुख सचेतक गोपी अछामीदेखि पूर्वराज्यमन्त्री विजयकुमार विश्वास, पूर्वसांसद कुलप्रसाद साम्बालगायतका नेता सक्रिय भएर लागेका छन् ।

माओवादी उम्मेदवार नमोनारायण भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आफ्नो उम्मेदवारी भएको दाबी गर्छन् । जनताबाट राम्रो ‘रेस्पोन्स’ पाएको भन्दै आफू विजयी हुनेमा उनी ढुक्क छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट ग्रामथान–१ को अध्यक्षमा विजयी भएका थिए । २०७९ मा भने स्वतन्त्र उठेर वडाध्यक्षमा हारेका हुन् ।

कांग्रेसले बलराम सरदार थारुलाई उम्मेदवार बनाएको छ । उनी पार्टीमा संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षधर हुन् । पार्टीभित्रको गुटगट विवादले चुनावी नतिजामा असर पर्नसक्ने विश्लेषण पनि छ । बलरामलाई चुनाव जिताउन पूर्वमन्त्रीहरू महेश आचार्य, मिनेन्द्र रिजाल, डिकबहादुर लिम्बू, नेतृ डिला संग्रौला, प्रदेश सांसद अमृत अर्याल, नेता गुरुराज घिमिरे, सांसद भीम पराजुलीलगायत खटिएका छन् ।

कांग्रेस उम्मेदवार बलराम पूर्वअध्यक्ष जयप्रकाशले अघि सारेका योजनालाई पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् । उनले निर्वाचित भए पालिकाको विद्यालयमा निःशुल्क कापी कलम बाँड्ने योजना रहेको बताए । चुनाव जित्नेमा ढुक्क रहेको बताउँदै उनले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास गर्ने योजना रहेको सुनाए ।

एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ । आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न नसकेको भनेर एमालेभित्र पनि विवाद छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार चुनावी मैदानमा छन् ।

एमालेबाट अध्यक्षको आकांक्षी रहेका नमनारायण चौधरीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । मुढा चुनाव चिन्ह पाएका उनको उम्मेदवारीले एमालेलाई धक्का लाग्नसक्ने अनुमान पनि छ । यद्यपि, तुलसीरामलाई चुनाव जिताउन एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाललगायतका नेताहरु अहोरात्र खटिएका छन् ।

एमाले उम्मेदवार तुलसीराम मतदाताको साथ राम्रो भएका कारण चुनाव जित्ने दाबी गर्छन् । उनको बुझाइमा एमालेको प्रतिस्पर्धी कांग्रेस हो । ‘घरदैलोमा मतदाताको ‘फिटब्याक’ राम्रो पाएको छु । ग्रामथानबासीबाट जति ‘रेस्पोन्स’ पाए नि चुनाव हुन बाँकी छ । तर, आजै मलाई विजयी घोषित गर्दा फरक पर्दैन । जनताको समस्या बुझेर उम्मेदवारी दिएको हुँ,’ उनले भने ।

चुनावमा कांग्रेस, एमाले र माओवादबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । तर, नयाँ दलहरु नागरिक उन्मुक्ती पार्टी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवारीले पनि पुराना दललाई चुनौती थपिने विश्लेषण छ । दुवै दलका उम्मेदवारलाई समेत बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।

नागरिक उन्मुक्तिबाट बुद्धिचन विश्वास र रास्वपाबाट नवीनकुमार विश्वास उम्मेदवार छन् । यी दुवै दलको जनाधार कमजोर देखिन्छ । तर, ठूला दलका लागि चुनौती भने पक्कै थपिएको विश्लेषण गरिएको छ ।

ग्रामथानको अध्यक्षमा अन्य दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी उम्मेदवार छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले उम्मेदवारी दिएका छन् । सबै उम्मेदवारले प्रचारप्रसारलाई व्यापक बनाएका छन् ।

रास्वपाबाट उम्मेदवारी दिएका नवीन २०७९ को निर्वाचनमा हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । त्यतिबेला ८ सय ८५ मतमा खुम्चिएका उनी अहिले गाउँपालिका अध्यक्षमा लड्दै छन् । पार्टी सभापति रवि लामिछानेलाई वर्तमान सरकारले जबरजस्ती थुनामा राखेकोदेखि अन्य एजेन्डासहित नवीनले चुनावी अभियान चलाइरहेका छन् । ग्रामथान मोरङको निर्वाचन क्षेत्र नम्बर–४ मा पर्छ ।

कोशी प्रदेशमै पालिका अध्यक्ष पदका लागि ग्रामथानमा मात्रै चुनाव हुँदैछ । त्यही भएर दलहरुले सबै शक्ति खन्याएका छन् । ग्रामथानमा अहिले केन्द्रीय नेताहरुको लर्को लागिरहेको छ । दलहरुले आफ्ना उम्मेदवार जिताउन तल्ला कमिटीसम्मलाई विशेष जिम्मेवारीसहित परिचालन गरेका छन् ।

हालसम्मको प्रतिस्पर्धी देखिएका ठूला दलले ग्रामथानको निर्वाचनलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेर्ने गरेका छन् । त्यही अनुसार आआफ्नो हिसाबले रणनीति तयार पारेर चुनावमा होमिएका हुन् । केन्द्रीय नेताहरु ग्रामथान केन्द्रित छन् । गाउँ घरमा चहलपहल बढेको छ ।

ग्रामथानमा १६ जना उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा ३ ठूला दलबीच हुने विश्लेषण रहेको पूर्वशिक्षक भरत गुरागाईंले बताए । सामाजिक अगुवासमेत रहेको गुरागाईं थारु बाहुल्य ग्रामथानमा पहाडे समुदायको मत निर्णायक हुने बताउँछन् । ‘ठूला दलभित्र केही असन्तुष्टि र विवाद देखिएको छ । तर, पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन छ,’ उनले भने ।

ग्रामथानमा ७ वटा वडा र १३ हजार ४१ महिलासहित २६ हजार ४४ मतदाता छन् । ग्रामथान गाउँपालिका–१ मा ३ हजार २ सय ९०, २ मा ४ हजार १ सय ३४, ३ मा २ हजार ९ सय ५३, ४ मा ३ हजार ९ सय ७३, ५ मा ४ हजार ८ सय ३८, ६ मा ३ हजार ७ सय ५५ र ७ मा ३ हजार १ सय १ मतादाता रहेका हुन् ।

२०७९ सालको स्थानीय निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता थिए । अहिले १ सय २ मतदाता थपिए । उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.