
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री सबै मतदानस्थलमा आज (बिहीबार) पुगेको निर्वाचन कार्यालयका सूचना अधिकारी रामराज पौडेलले जानकारी दिए ।

उनका अनुसार २८ जना मतदान अधिकृतहरुले मतपत्र बाहेक अन्य मतपेटिका, स्वस्तिक छाप, मतपेटिका स्टीकर, छेका बारालगायत आवश्यक पर्ने ४५ प्रकारका सामग्रीहरु बुझेर लगेका छन् ।
सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मीहरु पुगीसकेका छन् । नेपाली काँग्रेसबाट विजयी भएका जयप्रकाश गच्छदारको मृत्यु भएपछि उपनिर्वाचन चुनाव हुने भएको हो ।
७ वटा वडामा २६ हजार ४४ मतदाता रहेको ग्रामथान गाउँपालिकामा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र रहेका छन् ।
सुरक्षा व्यवस्था पनि चुस्तदुरुस्त पारिएको छ । मतपत्र बाहेक आवश्यक निर्वाचन सामग्री बुझेका मतदान अधिकृतहरुले शुक्रबार मात्रै मतपत्र बुझ्ने मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले बताए ।
ग्रामथान गाउँपालिकामा १५ जना विभिन्न दलबाट र १ जना स्वतन्त्रसहित १६ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
नेपाली काँग्रेसका बलराम सरदार, एमालेका तुलसीराम विश्वास, माओवादी केन्द्रका नमोनारायण माझीबीच मुख्य चुनावी प्रतिस्पर्धा देखिएको छ ।
आज राति १२ बजेसम्म मात्रै प्रचारप्रसार गर्न पाइने भएकाले उम्मेदवारहरु अहिले पनि मत माग्न व्यस्त रहेका छन् ।

























