
काठमाडौं । उपनिर्वाचनको मत परिणाम २ दिनभित्र सार्वजनिक गर्ने गरी तयारी थालेको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार बिहानदेखि सुरू भएको मतदानको अन्तिम नतिजा मंसिर १७ गते सोमबार अबेरसम्ममा सार्वजनिक गर्ने गरी तयारी थालेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् ।
उनले स्थानी राजनीतिक दलका प्रतिनिधिले सहयोग गरे सोमबार अबेरसम्ममा सबै ठाउँको परिणाम सार्वजनिक गर्ने बताए ।
आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने योजना बनाएको छ । वडामा १ भन्दा बढी मतदान केन्द्र भएका स्थानमा भने मतपेटिका एकै ठाउँमा ल्याउनुपर्ने भएकाले मतगणना केही ढिलो हुनसक्ने जनाएको छ ।
४१ पदका लागि मतदान जारी छ । उपनिर्वाचनले नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ गरी ४१ जनालाई निर्वाचित गर्ने छ । रिक्त ४४ पदमध्ये ३ पदमा भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

























