
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा भोलि (सोमबार) जाँदै छन् ।
चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् । बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ । ओली मंसिर २० गतेसम्म चीन भ्रमणमा रहने छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै, चिनियाँ समकक्षी लीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीको समेत भेट हुने मन्त्रालयले जनाएको छ । उनले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
ओलीले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्यलगायत रहने जनाइएको छ ।
ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधिलगायत रहने छन् । चीनको भ्रमण सकेर उनी मंसिर २० गते नेपाल फर्किने छन् ।

























