मोरङ र उदयपुरमा दुर्घटना, २ जनाको मृत्यु

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १६, आइतबार १९:०१

विराटनगर । मोरङ र उदयपुरमा आइतबार दिउँसो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोरङको बेलबारीमा ट्याक्टर र उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थान कार्यालय इटहरीका अनुसार बेलबारी नगरपालिका–८ स्थित यमआई क्रसर उद्योगबाट सिलिङकन (सडक निर्माणमा प्रयोग हुने मसिनो गिट्टी) लोड गरेर बाहिर निस्किने क्रममा को २ त ७५४८ नम्बरको ट्याक्टर दिउँसो ३ः१५ बजेतिर दुर्घटनामा परेको थियो । इन्जिनको भाग अगाडि उठेर ट्याक्टर अचानक पल्टिएको हो ।

दुर्घटनामा ट्याक्टर चालक सुन्दरहरैँचा नगरपालिका–७ गछियाका २५ वर्षीय राजु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो ।

उपचारका क्रममा साँझ ५ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । चालककै लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै, मदन भण्डारी राजमार्गअन्तर्गत त्रियुगा नगरपालिका–९ गैरुनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गाईघाटबाट राजावासतर्फ जाँदै गरेको स ८ प ६६९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दिउँसो ३ः२० बजेतिर दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर चालक उदयपुरको त्रियुगा–५ देउरीका अन्दाजी ३५ वर्षीय इन्द्रदेव चौधरीको मृत्यु भएको हो । गम्भीर अवस्थालाई उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो ।

उपचारकै क्रममा दिउँसो ४ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.