
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) औपचारिक चीन भ्रमणमा जाँदै छन् । उनको ४ दिने चीन भ्रमण तय भएको छ ।
गठबन्धनका दलबीच बीआरआई कार्यान्वयनमा ‘मध्यमार्गी बाटो’ अपनाएर ओली चीन जान लागेका हुन्। बीआरआई कार्यान्वयनको सम्झौताका विषयलाई लिएर कांग्रेस र एमालेबीच लामै छलफल चलेको थियो।
चिनियाँ राजदूतावासमा शनिबार बुझाइएको यससम्बन्धी डकुमेन्टमा नयाँ सम्झौताको नाम कांग्रेसले प्रस्ताव गरेअनुसार नै ‘बीआरआई सहकार्य फ्रेमवर्क’ राखिएको छ। चीनलाई पठाइएको दस्तावेजमा सन् २०१७ मा भएको बीआरआईसम्बन्धी समझदारीको विषयको चर्चा गरिएको छ।
त्यसअन्तर्गत विद्युत्, शिक्षा, पर्यटन स्वास्थ्य, पूर्वाधार निर्माणलगायत कयौं विषयमा सहकार्य गर्न सकिने उल्लेख छ। चिनियाँ परियोजना (बीआरआई) कार्यान्वयन सम्झौताका सम्बन्धमा नेपालले चीनलाई आफ्नो तर्फबाट अन्तिम प्रस्ताव बुझाएको थियो।
यसअघि चीनले बीआरआई कार्यान्वयन योजना प्रस्ताव गरी त्यसमा हस्ताक्षरका लागि पहल गरिरहेको थियो। चिनियाँ प्रस्तावको जवाफमा नेपालले फरक नाम र व्यहोरा प्रस्ताव गरेको हो। तर, यस प्रस्तावमा चिनियाँ धारणा सार्वजनिक हुन बाँकी छ ।
प्रधानमन्त्री ओली २० गतेसम्मको भ्रमणमा लागि हिमालयन एयरलाइन्सको चार्टर विमानबाट चीन जाने छन् । बिहान ११ बजे चीनतर्फ प्रस्थान गर्ने प्रधानमन्त्री नेतृत्वको भ्रमण टोली स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्ने छ । सरकारी खर्चबाट ३९ जना र निजीबाट ४८ जना प्रधानमन्त्रीको भ्रमण टोलीमा रहने बताइएको छ ।
प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय भेट वार्ता गर्ने कार्यक्रम छ। सोही द्विपक्षीय वार्तामा दुई मुलुकबीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुनेछन् ।
प्रधानमन्त्री ओलीले मंगलबारै चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। उनले चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्त गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ। साथै, उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्नेछन्।
बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन्। भ्रमणको चौथो दिन बिहीबार नेपाल फर्किने कार्यक्रम छ।

























