
विराटनगर । पार्टी केन्द्रीय समितिको सर्कुलर विपरीत नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले विराटनगरमा पालिका सभापतिहरूको भेला गरे । यो भेला मार्फत उनले १५ औं महाधिवेशनमा सभापति उठ्ने घुमाउरो भाषामा घोषणा गरे ।
पार्टी केन्द्रको इच्छा विपरीत गृहनगरमा कोइरालाले गरेको शक्ति परीक्षण उनी पक्षका नेता तथा पालिका सभापति सहभागी थिए । भेलामा आएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने,‘कुनै किसिमको डर, धाक, धम्कीबाट उहाँहरु आत्तिनुभएन । तपाईंहरू निस्फिक्रि भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु ।’
पार्टी प्रदेश समितिले २२ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्दैछ । त्यसको चार दिन अघि कोइरालाले पालिका सभापतिहरूलाई भेला गरेर १५ औं महाधिवेशनपछि नेता कार्यकर्तालाई अन्याय नहुने बताए । उनको आसय आफू सभापति भएपछि अन्याय गर्दिन भन्ने हो ।
१५ औं महाधिवेशनबाट गलत कुरा हुन नदिने र कार्यकर्ताको संरक्षण आफूले गर्ने जिम्मेवारी लिने बताए । नेता शेखरले २०८३ को मंसिरसम्म १५ औं महाधिवेशन हुने सम्भावना नदेखेको बताए । अधिवेशनमा समयमा हुनुपर्छ भनी गाउँ गाउँमा भन्नु जरुरी र दबाब सिर्जना गर्नुपर्ने अवस्था रहेको बताए । ‘क्रियाशील सदस्यताको अहिले जुन भइरहेको छ । यो तरिकाले अधिवेशन समय हुने सम्भावना छैन,’ उनले भने ।
प्रदेशले सम्मेलनको मिति तोकेपछि कोइराला समूहले पालिका सभापतिहरूको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको संस्थापन पक्षको बुझाइ छ । तर, भेलामा बोल्ने क्रममा नेता कोइरालाले कार्यक्रम धेरै पहिले तय भएकाले कोही तर्सनु नपर्ने बताए । कोइराला पक्षीय केन्द्रीय सदस्य राजीव कोइरालाले केन्द्रले भेला नगर्नु नभनेका कारण कार्यक्रम राखिएको बताउँछन् ।
भेलाको अघिल्लो दिन सोमबार केन्द्रीय समितिले २२ मंसिरअघि कुनै कार्यक्रम नरहेको पालिका सभापतिहरूलाई सर्कुलर गराएको थियो । प्रदेशका १३७ वटै पालिकालाई निम्तो गरिएको थियो । ती मध्ये ११३ जना सहभागी भएको कोइराला पक्षको दाबी छ । तर संस्थापन पक्षका एक नेताले भने आजको भेलामा जम्मा ६०-६१ जना सभापति मात्रै उपस्थित भएको बताए ।
भेलामा कोइराला समूहबाट पालिकामा जितेका सभापति र पदाधिकारीहरू सबै सहभागी छन् । पालिका सभापतिहरूलाई अधिकार दिनसके मात्रै पार्टीलाई बलियो बनाउन सकिने कोइरालाको तर्क थियो ।
भेलामा कोइराला पक्षका केन्द्रीय नेताहरू पनि सहभागी भएका थिए । कोइराला पक्षका केन्द्रीय सदस्य डाक्टर मीनेन्द्र रिजालले सभापति शेरबहादुर देउवालाई देखाएर निषेधको राजनीति नगर्न आग्रह गरे । पार्टीलाई मजबुत बनाउन जुनसुकै कार्यक्रमलाई निषेध गर्न नहुने उनको विचार थियो ।
भेलालाई नेता गुरुराज घिमिरेले पार्टीको सुदृढीकरणका लागि आयोजित कार्यक्रम रोक्नका लागि संस्थापन पक्षले कारबाहीको धम्की दिएको गुनासो गरे । वर्तमान पार्टी नेतृत्वले पार्टी एकजुट बनाउन नसकेको केन्द्रीय सदस्य सरिता प्रसाईंको गुनासो थियो । भेलामा बोल्ने कतिपयले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व कोइरालाले लिनुपर्ने सुझाव दिए ।

























