
झापा । झापाको गौरादह नगरपालिका–४ डोरामारीमा आगलागी भएको छ । खड्गबहादुर कार्कीको जस्ताको छानो र सिमेन्टको पिलर भएको १ तले गाईगोठ (ग्वाली)मा मंगलबार राति ११ः४५ बजेतिर आगलागी भएको हो ।
प्रहरीका अनुसार आगोले जलेर गोठमा रहेका एउटा खसी, बाख्रा, ३ वटा पाठापाठी र गाईको बाच्छी मरेका छन् । एउटा बाच्छी जलेर घाइते भएको छ । आगोले २ वटा मोटरसाइकल जलेका छन् ।
को १९ प ४४९८ र को १९ प ६६७८ नम्बरको मोटरसाइकल तथा गोठभित्र राखेको अन्नपात पूर्णरूपमा जलेर क्षति भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार आगलागीबाट १५ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
मानवीय क्षति भने भएन । स्थानीय र दमकलको सहयोगमा करिब १ घण्टापछि आयो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी डीएसपी चन्दले बताए ।























