
काठमाडौं । चीनको ४ दिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश आइपुगेका छन् ।
हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए । प्रधानमन्त्री ओली केहीबेर अघि काठमाडौं अवतरण गरेका हुन् । उनी सवार हवाईजहाज अवतरण गर्नुअघि अन्य सबै उडान–अवतरण बन्द गरिएको थियो ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरे । त्यस क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर समेत भएको थियो ।
चीन भ्रमणका उपलब्धिबारे ओलीले विमानस्थलमा पत्रकारलाई जानकारी दिँदै नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धि, वसन्तपुरस्थित ९ तले दरबार पुनर्निर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान, भैंसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकल, स्वयंसेवी चिनियाँ भाषा शिक्षक तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका थिए ।

























