
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले प्रदेशको बजेट संशोधन मान्य नहुने बताएको छ । कोशी प्रदेशमा सत्तापक्षीय दुई दलीय संयन्त्रले प्रदेशको बजेट पुनरावलोकन गर्ने निर्णय गरेको थियो । प्रदेशको संयन्त्र एमाले नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बनेको छ ।
संयन्त्रले बजेट पुनरावलोकन गर्ने बताएपनि माओवादी केन्द्रले बजेट पुनरावलोकन नहुने र भए मान्य नहुने बताएको हो । सरकार र संसदले नचिन्ने संयन्त्रको नाममा मुख्यमन्त्रीलाई निरिह बनाउन खोजिएको आङ्बोले आरोप छ ।
‘मुख्यमन्त्री कार्यालयमा हाम्रो प्रदेशसभा र प्रदेश सरकारले नचिन्ने संयन्त्रको बैठक बस्यो, मुख्यमन्त्री बस्ने ठाउँमा जनताले पनि नचिनेको प्रदेश सभा र सरकार कसैले नचिनेको एक जना मान्छेबाट संयन्त्रको संयोजकको नाममा बसेर बजेट पुनरावलोकन हुन्छ भनेर फर्मान जारी भयो,’ उनले भने,‘ मुख्यमन्त्री बन्ने रहर हुने मान्छेले चुनाव जितेर प्रदेशसभामा आउनु, मुख्यमन्त्री बस्ने ठाउँमा बसेर सिंगो संसदले पास गरेको र सरकारले ल्याएको बजेट पुनरावलोकन हुन्छ भन्नु सरम हुँदैन ?’
आङ्बोले बजेट पुनरावलोकन गर्ने अधिकार नभएको दाबी गरे । ‘संसदले पास गरेको बजेट पुनरावलोकन गर्ने अधिकार कहाँ छ ?,’ उनले भने,‘अबैधानिक र गैरकानुनी संयन्त्रको नाममा संसदले पास गरेको र त्यहीँ मुख्यमन्त्री र त्यहीँ अर्थमन्त्रीले ल्याएको बजेट पुनरावलोकन गर्ने जुन कुरा गरियो, त्यो विषय हामीलाई मान्य छैन ।’
उनले व्यक्ति वा संयन्त्रको रहरमा बजेट पुनरावलोकन नहुने र संवैधानिक कानुनी र संसदीय परम्परा भन्दा बाहिर जान नमिल्ने दाबी गरेको छ ।

























