
काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू हुने भएको छ ।
शनिबार उमेर हद लागु गर्ने कि नगर्ने भन्ने विषयमा मतदान भएको थियो । उमेर हद लगाउने पक्षमा बहुमत आएपछि ३२ वर्षे उमेर हद लागु हुने भएको हो ।
अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब १ हजार ७८९ मत खसेको थियो । तीमध्ये १ हजार ७७९ मत सदर भएको थियो । ३२ वर्षे उमेर हद लगाउने पक्षमा ९०० र नलगाउने पक्षमा ८७९ मत आएको प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले जानकारी दिए ।
निर्वाचन कार्यतालिका अनुसार माघ ५ गते केन्द्रीय पदाधिकारी र सदस्यका उम्मेदवारको मनोनयन दर्ता हुनेछ । माघ १२ गते निर्वाचन हुनेछ ।

























