
काठमाडौं । सक्रिय युवा पत्रकार श्यामसुन्दर पुडासैनीको ३३ वर्षकै उमेरमै निधन भएको छ ।
अचानक बेहोस भएपछि उपचारका लागि काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पताल पुर्याइएका उनको शुक्रबार राति १०ः३० बजेतिर निधन भएको हो । प्रेस चौतारी नेपालको एसोसिएट प्रदेशका उपाध्यक्षसमेत रहेका पुडासैनी नेपाल भ्यूज अनलाइनका उपसम्पादक थिए ।
कार्यालयबाट कपनस्थित आफ्नो कोठामा फर्किएको केही समयमै अचानक बेहोस भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल लगिएको केहीबेरमै उनलाई मृत घोषित गरिएको हो । हृदयघातका कारण उनको निधन भएको हुनसक्ने अनुमान गरिएको छ ।
पुडासैनी विगत दुई सातादेखि नेपाल प्रहरी अस्पतालमा उपचार गराउँदै आएका थिए । उनले मुटु रोगको औषधिसमेत सेवन गरिरहेका थिए । पुडासैनीले यसअघि माउन्टेन टेलिभिजन, प्राइमटाइम्स टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, रेडियो अन्नपूर्णलगायतका सञ्चार माध्यममा काम गरेका थिए ।
उनी नुवाकोटको बेलकोटगढी नगरपालिका–९ चाँपखेतका बासिन्दा हुन् । पुडासैनीको निधनप्रति प्रेस चौतारी नेपालले दुःख व्यक्त गरेको छ । चौतारीका महासचिव हिरामान लामाले शोक वक्तव्य जारी गर्दै पुडासैनीको निधनले संगठन स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् ।
पुडासैनीको निधनबाट प्रेस चौतारी नेपाल तथा श्रमजीवी पत्रकारिताको आन्दोलनमा अपूरणीय क्षति पुगेको लामाले बताए । ‘सम्पूर्ण श्रमजीवी पत्रकारहरुका तर्फबाट हामी संगठनका निडर र क्रिशाशील पत्रकार श्यामसुन्दर पुडासैनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । उहाँले मिडियामार्फत सामाजिक रुपान्तरणको अभियानमा निर्वाह गर्नुभएको भूमिका र योगदान सधैं स्मरणीय हुनेछ,’ शोक वक्तव्यमा भनिएको छ ।
























