
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एकपटक देशको नेतृत्व गर्ने इच्छा व्यक्त गरेका छन् ।
नेकपाले देशको नेतृत्व गर्न चाहेको उनले बताएका हुन् । काठमाडौंमा शनिबार आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले देश र जनताको सेवाका लागि एकपटक देशको नेतृत्व गर्न चाहेको बताए।
उनले आफ्नो सेवा सुविधाका लागि नेतृत्व गर्न नचाहेको स्पष्ट पारेका छन् । मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिका विरुद्ध सशक्त भएर उभिने स्पष्ट दृष्टिकोण नेकपामा रहेको जिकिर उनको छ ।
क्रान्तिकारीबीच सुरु भएको ध्रुवीकरणको क्रम अब नरोकिने भन्दै देशको नेतृत्वमा पुग्ने गरी सबैबीच ध्रुवीकरण आवश्यक रहेको विप्लवको भनाइ छ । दलालहरूको व्यवस्थालाई बदल्न जरुरी रहेकाले सबै माओवादी घटकहरू तयार हुनुपर्ने उनको भनाइ छ।
उनले समान विचारधाराबीच एकता र सहकार्य गर्दै देशलाई संकटबाट रुपान्तरणतर्फ लैजाने दाबी गरे । उनले ठूला भनिएका दलहरूभित्रको ध्रुवीकरण पनि जनताले हेरिरहेको उल्लेख गरे ।
उनीहरूको क्रियाकलापले जनता सन्तुष्ट नरहेको धारणा विप्लवको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, विद्रोहीबीच एकता घोषणा गरिएको थियो।

























