
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अध्यादेश ल्याउनका लागि सरकारले संसद अधिवेशन नबोलाएको आरोप लगाएको छ।
धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा आइतबारबाट माओवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पहिलो दिनको बैठकपश्चात पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले सरकारले संसद अधिवेशन नबोलाउनु रहस्यमय भएको बताए ।
‘कुनै वर्ष मंसिर २८ संसद अधिवेशन आह्वान भएको थियो तर अहिले पौषको २१ गते भइसक्दा पनि सरकारले संसद अधिवेशन बोलाएको छैन,’ उनले भने, ‘हामीलाई के लागेको छ भने यो कुनै रहस्यमय तरिकाले सदन बोलाउन ढिलाई भइरहेको छ।’ राजनीतिक दल फुटाउन अध्यादेश ल्याए पार्टीले प्रतिवाद गर्ने सापकोटाले बताए ।
उपाध्यक्ष सापकोटाका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरूसँग एकताको पहल गर्ने प्रस्ताव राखेका छन् । आगामी चुनाव माओवादीले एक्लै लड्ने पनि उनले बताए ।
अग्रगमनका पक्षमा संविधान सशोधनका लागि बहस र छलफल चलाउनुपर्ने, संक्रमणकालीन न्यायसँग सम्बन्धी समितिको पदाधिकारी नियुक्त गर्न पहल गर्नेलगाएका विषयलाई अध्यक्ष प्रचण्डको आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

























