धरानका मेयरले सामाजिक द्वन्द्व बढाएको पत्रकार महासंघको निष्कर्ष

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २८, आइतबार १६:३७

विराटनगर । नेपाल पत्रकार महासंघले सुनसरीको धरान उपमहानगरपालिकाका मेयर र्हकराज राई (हर्क साम्पाङ)ले आफूलाई कानुनभन्दा माथि राखेर सामाजिक द्वन्द्व बढाएको निष्कर्ष निकालेको छ ।

राईका कारण सामाजिक दुरी र द्वन्द्व बढ्दै गएको निष्कर्ष महासंघले निकालेको हो । धरानका पत्रकार गोपाल दाहालबारे स्थलगत अध्ययन गर्न गठित समितिको प्रतिवेदन आइतबार सार्वजनिक गर्दै महासंघले मेयर राईले अधिकार दुरुपयोग गरी आफूलाई कानुन भन्दामाथि राख्न खोजेको ठहर गरेको छ ।

महासंघले केन्द्रीय सदस्य कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष भरतबहादुर खड्का, सुनसरी शाखा अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बाले सबै दलसँग छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदन सार्वजनिक गर्दै धरानका मेयरबाट सामाजिक द्वन्द्व बढाउने गतिविधि भइरहेको ठहर गरेको हो । महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईका गतिविधिहरू सामाजिक रुपमा दुरी र द्वन्द्व बढाउने खालका छन्।’

प्रमुख राईले आफ्नो आलोचना गर्नेहरू, नगरमा भएका बेथितिबारे समाचार लेख्नेहरूलाई गाली बेइज्जत गर्ने, समर्थकहरूबाट धम्की दिन लगाउने, भौतिक आक्रमणसम्म गर्ने र थप समाचारहरू लेख्न नसक्ने बनाउनेसम्मका हर्कत गरिरहेको महासंघको ठहर छ । मेयर राईले सामाजिक सञ्जालमा उनको गलत कार्यको समाचार लेख्ने पत्रकारहरूलाई लक्षित गर्दै धम्कीपूर्ण सामग्री सार्वजनिक गरेर समर्थकहरूलाई पनि हौसाएको महासंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

‘नगर प्रमुखबाट आफ्नो राम्रो कामको पक्षमा लेखाउने र भिडियो बनाउने काममा युट्युबरहरूलाई प्रयोग गरेको पाइएको छ। व्यावसायिक पत्रकारहरूलाई निशाना बनाउने काम गरेको देखिन्छ। अनुकूल प्रश्न नगर्नेलाई प्रमुख राईले दलको झोले पत्रकार भनेर गाली गर्ने गरेको देखिन्छ,’ महासंघका महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले पत्रकार गोपाल दाहाललाई ज्यान मार्नेसम्मको धम्की दिइएको घटनाले पत्रकारिता तथा पत्रकारको सुरक्षा र स्वतन्त्रता जोखिममा परेको निष्कर्ष निकालेको छ । ‘अझ पत्रकारहरूको परिवार पनि मानसिक तनाव र धम्कीको सामना गर्न बाध्य भएको पाइयो। यसबाट संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको देखिन्छ,’विज्ञप्तिमा भनिएको छ।

महासंघले साङपाङले सुरु गरेको श्रमदानको अभियान सकारात्मक रहेपनि आर्थिक कारोबारमा पारदर्शिताको गम्भीर प्रश्न उठेको बताएको छ। ‘नगर प्रमुखको कार्यभार सम्हालेलगत्तै उनले सुरु गरेको श्रमदानको अभियानलाई सकारात्मक मान्न सकिन्छ। तर, धरानको विकासका लागि श्रमदानमार्फत संकलन गरेको रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी निजी खातामा राखेर आफूखुसी निकासा गरेकाले समाचारको विषय बनेको मात्र होइन स्थानीय सरकारको आर्थिक कारोबारमा पारदर्शिताको गम्भीर प्रश्न उठेको छ। यसबारे राज्य संयन्त्रले छानबिन गर्नुपर्ने देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदनको निष्कर्षका आधारमा थप छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न महासंघको केन्द्रीय कार्यसमितिले गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई भेटेर प्रतिवेदन हस्तान्तरण गर्ने तयारी गरिरहेको छ। पत्रकार दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए।

त्यसपछि मेयर राईले सामाजिक सञ्जालमार्फत पत्रकार दाहाललाई धम्की दिएपछि अध्ययन गर्न पत्रकार महासंघले टोली पठाएको थियो। टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै महासंघले राईका गतिविधिले सामाजिक द्वन्द्व बढाइरहेको सार्वजनिक गरेको हो ।

यस्तो छ महासंघको विज्ञप्ति

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.