माघे संक्रान्ति पर्व आज, धुमधामका साथ मनाइँदै

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १, मंगलबार ०६:४६

विराटनगर । आज माघ १ गते अर्थात माघे संक्रान्ति पर्व हो । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन यो पर्व मनाउने प्रचलन छ । देशभर स्नान, जप, तप, ध्यान, साधना, दान आदि गरी माघे संक्रान्ति धुमधामका साथ मनाइन्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्तिसमेत भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । प्रत्येक वर्ष बिदा दिइन्छ ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत देशभरका विभिन्न स्थानमा माघ स्नान गर्न भक्तजनको भिड लाग्ने गरेको छ । विभिन्न ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

तराईमा माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा समेत मनाउने चलन छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता रहेको धर्मशास्त्रविद्को भनाइ छ । माघे संक्रान्तिको दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ तथा स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

त्यस्तै, थारु समुदायले माघ १ गतेलाई माघी पर्वका रूपमा मनाउने गर्छन् । यो समुदायले नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछ ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन १ माघमा थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाइन्छ । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने गरिन्छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग गरिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.