
काठमाडौं । विपक्षी दलहरुको बैठकले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकालेको छ ।
यसअघि सरकारको ल्याएको अध्यादेशको विपक्षी दलहरुले विरोध गरेका हुन् । विपक्षी दलहरुको बैठक नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको थियो ।
बैठकले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको छ । संयुक्त वक्तव्य निकालेर संसद अधिवेशन बोलाउन दबाब दिने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले बताए ।
उनका अनुसार सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत भएको छ । बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकालेको पुनको भनाइ छ ।
विपक्षी दलको बैठक बिहीबार पनि बस्ने भएको छ । बिहीबार बैठक बसेपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने निर्णय भएको नेताहरुले बताएका छन् ।

























