
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला कदमका कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको बताएका छन् ।
चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यममिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले सरकारको कदमका कारण गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको बताएका हुन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘संविधान, लोकतन्त्र, समावेशी र समानताका पक्षमा यसले खोस्न खोजियो भने देश राजनीतिक खतरामा जानसक्छ ।’
दुर्घटनाबाट देशलाई बचाउन उनले आ–आफ्नो ठाउँबाट आवाज उठाउन अनुरोध गरे । सरकारले पछिल्लो पटक ल्याएका पाँच वटा अध्यादेश लोकतन्त्रको मर्यादा र भावना विपरित भएको प्रचण्डले बताए ।

























