
काठमाडौं । नेपाली कांग्रेसले नेकपा (एमाले)सँग भएको सहमति अनुसार नै सरकार अघि बढिरहेको जनाएको छ । कांग्रेसले एमालेसँग भएको पूर्वसहमति अनुसार अघि बढ्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार बुढानीलकण्ठमा बसेको संसदीय दल र मन्त्रीहरूको संयुक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन् । उनले एमालेसँगको गठबन्धनको विकल्प नरहेको स्पष्ट पारेका छन् ।
बैठकमा सभापति देउवाले मुलुकमा सुशासन र आर्थिक समृद्धिका लागि कांग्रेस–एमालेबीच सहमतिको सरकार गठन भएको बताए । सबै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा भइरहेको कामका बारेमा जानकारी गराएपछि देउवाले सहमति अनुसार काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।
बैठकले सांसद दीलेन्द्र बडुको संयोजकत्वमा संसदीय दल अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ। संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा १–१ जना संयोजक तोक्ने व्यवस्था छ ।
व्यवस्था बमोजिम केही सांसदहरूलाई जिम्मेवारी दिने निर्णय कांग्रेसले गरेको छ । जिल्ला अदालत काठमाडौंमा बहस गरेर निस्कने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातको कांग्रेसले निन्दा गरेको छ ।
कांग्रेसले सातामा २ दिन खुला भेटघाट गर्न, नागरिकको सुझाव लिन र बाँकी ५ दिन मन्त्रालयको काममा केन्द्रित हुन मन्त्रीहरुलाई निर्देशन दिएको छ । त्यस्तै, बैठकले संसदीय समितिमा रहेका विधेयकहरूलाई छिटो पारित गर्न र संविधान कार्यान्वयनका लागि नयाँ विधेयकहरू ल्याउनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

























