
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले देशलाई राजनीतिक दुर्घटना तर्फ लगेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारले दुई ठूला दलकाे सरकारले देशलाई राजनीतिक दुर्घटना तर्फ धकेलेको बताएका हुन् ।
‘छ महिनामा सरकारको क्रियाकलापले राजनीतिक दुर्घटना तर्फ लगेको छ, सदन बोलाउनुपर्नेमा अध्यादेश, त्यो अध्यादेश पनि संविधान र नियम मिचेर कानुन मिचेर ल्याइएको छ,’ उनले भने,‘संसदीय समितिमा रहेको विधेयकलाई पनि अध्यादेशमा ल्याउने कुराले सरकारले देशलाई राजनीतिक दुर्घटना तर्फ धकेल्दैछ भन्ने प्रष्ट देखियो ।’
उनले अध्यादेश फिर्ता लिएर त्यसलाई विधेयकको रुपमा संसदमा पेश गर्न आग्रह गरे । सरकारले संसदकाे अधिवेशन छलेकाे बताउँदै उनले तत्काल हिउँदे अधिवेशन बोलाउन पनि माग गरे ।
‘तुरुन्त अधिवेशन बोलाइयोस्, दुई तिहाई बहुमत छ भन्ने सरकारले सदनकै प्रक्रियाबाट गए भै हाल्यो नि,’ उनले भने,‘ अलोकतान्त्रिक र स्वेच्छाचारी बाटो चाहिँ किन हिड्न पर्याे ।’

























