
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्षलाई प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ फर्काएका छन् ।
विपक्षी दलहरूले बनाएको मोर्चाको विषयमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘विशाल नदीको किनारमा बसेर ढुंगा हान्दै थुन्ने प्रयास’ भनेका थिए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विपक्षी दलहरूले नदीमा ल्याउने प्रवाह हेरेर बस्नु भन्दै जवाफ फर्काएका हुन् ।
प्रधानमन्त्री ओलीले त तपाईंहरूको मोर्चाबन्दीलाई नदीको किनारमा बसेर ढुंगा हान्दै थुन्ने प्रयास भन्नुभएको छ नि ? भन्ने प्रश्नको जवाफमा प्रचण्डले भने,‘हेर्दै जानुस् न नदीको कस्तो प्रवाह आउँदै जान्छ, भोलिको दिनमा देखिहाल्छ नि ।’
फरक प्रसंगमा प्रचण्डले आफ्ना केन्द्रीय सदस्यहरुले सम्पत्तीको स्रोत देखाउनुपर्ने बताए । माओवादी केन्द्रको केही दिन अगाडि सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरुले सम्पत्ती विवरण बुझाउनु पर्नेसहितको प्रतिवेदन पारित गरेको थियो । प्रचण्डले सम्पत्ती विवरण बुझाउनु पर्ने मात्रै नभएर सम्पत्तीको स्रोत पनि देखाउनु पर्ने र गैरकानूनी ढंगले कमाएको देखिए कारबाही गरिने पनि बताए ।
‘कारबाही गर्नकै लागि त्यो भनिएको हो । हामीले पहिले पनि महाधिवेशनबाट पनि यो कुरा (सम्पत्ती विवरण बुझाउने कुरा) उठाएका थियौं । त्यसलाई योजनामा ढालेका थिएनौं । अहिले हामीले प्रदेश पदाधिकारी र केन्द्रीय समितिको र क्रमैसँग तलैसम्म सम्पत्ती विवरण बु्झाउने मात्रै होइन, त्यसको स्रोत खुलाउने, जिविका कसरी चलिरहेको छ परिवार र परिवारको सदस्यको भनेर बुझ्न खोजेका छौं,’ उनले भने, ‘त्यो मात्रै होइन हामीले अनुगमनको लागि हामीसँग भएको शक्ति सम्पन्न लेखा आयोग छ । त्यसलाई अनुगमनको जिम्मा पनि दिइसकेका छौं । दोषि देखियो भने कारबाही गरिन्छ ।’

























